काठमाडौं, नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच. हाश्मीले शुक्रबार पाकिस्तान–नेपाल मैत्री टी–२० क्रिकेट प्रतियोगिता २०२६ को ११औँ संस्करणको औपचारिक उद्घाटन गर्नुभएको छ। एक सातासम्म चल्ने यस प्रतियोगिताले नेपाल र पाकिस्तानबीचको जनस्तरको सम्बन्ध सुदृढ बनाउने उद्देश्य राखेको छ।
पाकिस्तानी दूतावासद्वारा जारी प्रेस विज्ञप्तिअनुसार उद्घाटन समारोहमा खेलप्रेमी, सञ्चारकर्मी, पाकिस्तानका मित्रहरू, पाकिस्तान–नेपाल संघ (PNAN), ग्लोबल आइएमई बैंक, नेपाल क्रिकेट संघ (CAN) तथा युथ काउन्सिल का प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा वक्ताहरूले वार्षिक रूपमा प्रतियोगिता आयोजना गर्दै आएको पाकिस्तानी दूतावासको पहलको प्रशंसा गर्दै क्रिकेटले युवाहरूलाई एकताबद्ध गर्न र मित्रता प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेलेको बताए।
यस वर्षको प्रतियोगितामा १२ टोली सहभागी छन्। जसमा १० वटा क्लब टोलीका साथै पाकिस्तानी दूतावास र ग्लोबल आइएमई बैंकका टोली पनि समावेश छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत हाश्मीले क्रिकेट केवल खेल मात्र नभई मित्रता, टिमवर्क र आपसी समझदारी बढाउने सशक्त माध्यम भएको उल्लेख गर्नुभयो। उहाँले सहभागी सबै टोलीलाई सफलताको शुभकामना व्यक्त गर्दै प्रतियोगिता सफलतापूर्वक सञ्चालन गर्न सहयोग पुर्याउने आयोजक तथा साझेदार संस्थाहरूप्रति आभार प्रकट गर्नुभयो।
प्रतियोगिताको फाइनल खेल फेब्रुअरी १५ मा सम्पन्न हुने छ। समापन समारोहमा ट्रफी तथा नगद पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ। प्रतियोगिताका सबै खेलहरू एक्सन स्पोर्ट्स एचडीआई मार्फत प्रत्यक्ष प्रशारण भइरहेका छन् भने सामाजिक सञ्जालमार्फत पनि स्ट्रिमिङ गरिएको छ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend