काठमाडौँ, कोरियन शैक्षिक परामर्श संघ नेपाल (KECAN) को आयोजनामा परामर्श व्यवसायीहरूको समसामयिक विषय तथा समस्याहरूका बारेमा एक विशेष अन्तरक्रिया तथा वृहत् सदस्य भेला कार्यक्रम सम्पन्न भएको छ। हत्तिसारमा अवस्थित हिमालयन रेष्ट्रो एण्ड इभेन्ट्समा संघका अध्यक्ष विष्णु खड्काको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा सरकारद्वारा हालै परामर्श व्यवसायीहरूमाथि गरिएको भनिएको कारबाही, नवीकरण प्रक्रिया, र अवैध परामर्श सेवाका चुनौतीहरूका विषयमा गम्भीर छलफल भएको थियो।
कार्यक्रममा बोल्दै संघका अध्यक्ष विष्णु खड्काले सरकारले गैरकानुनी रूपमा सञ्चालन भइरहेका कन्सल्टेन्सीहरूमाथि चालेको कदम र कारबाही प्रक्रिया महासंघको प्रयास तथा निवेदनका आधारमा नै अघि बढेको जानकारी दिनुभयो। उहाँले धुलिखेल र काभ्रेमा भएका महासंघका विस्तारित बैठकहरू तथा पटक-पटक बसेका बैठकहरूबाट गैरकानुनी कार्य गर्नेहरूलाई सर्वसम्मत रूपमा कारबाही गर्ने निर्णय पारित भइसकेको स्पष्ट पार्नुभयो।
यसैगरी, अध्यक्ष खड्काले सामाजिक सञ्जाल (Social Media) मार्फत कोरियामा बसेर ‘Student Counseling’ गर्ने कार्य पूर्णतः गैरकानुनी रहेको बताउनुभयो। त्यस्ता अवैध परामर्शदाताहरूको पछि लागेर आफ्नो भविष्य जोखिममा नपार्न उहाँले विद्यार्थी तथा अभिभावकहरूलाई विशेष सुझाव दिनुभयो। साथै, यस विषयमा सरकारको ध्यानाकर्षण गराउँदै त्यस्ता गतिविधिमा संलग्नलाई तत्काल कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिनुभयो।
सरकारले परामर्श व्यवसाय क्षेत्रमा भित्र्याउन लागेको धरौटी प्रणालीप्रति अध्यक्ष खड्काले कडा आपत्ति र विरोध जनाउनुभयो। परामर्श व्यवसायमा धरौटी आवश्यक नरहेका विभिन्न मुलुकका उदाहरणहरू प्रस्तुत गर्दै उहाँले यस व्यवस्थाको विपक्षमा आफ्नो स्पष्ट धारणा राख्नुभयो। परामर्श व्यवसायी क्षेत्रमा विदेशी लगानी (FDI) भित्र्याउन नहुने र विदेशमा MBBS गराउने बहानामा बिनादर्ता विदेशीहरूले चलाएका संस्थाहरूमाथि समेत निगरानी बढाउनुपर्ने माग संघले अघि सारेको छ।
व्यवसायीहरूको हितलाई ध्यानमा राख्दै अध्यक्ष खड्काले पहिलो वर्ष नवीकरण (Renew) छुट भएका वा छुट्न गएका व्यवसायीहरूलाई सरकारले एकपटकका लागि नवीकरणको अवसर दिनुपर्ने माग गर्नुभयो, ताकि व्यवसायीहरूले बिनाकुनै डर र त्रास ढुक्कसँग आफ्नो व्यवसाय सञ्चालन गर्न सकून्। महासंघ मातहत रहेका अन्य ८ वटा संघहरूसँग समन्वय गरी एक ‘Special Task Force’ छिट्टै तयार गरिने जानकारी समेत उहाँले गराउनुभयो।
भेलामा संघका वरिष्ठ उपाध्यक्ष रमेश अधिकारीले महासंघले हालसम्म गरेका सकारात्मक कार्यहरूको स्वागत गर्नुभएको थियो। उपाध्यक्ष शशी प्रसाद भट्टराईले वर्तमान परिस्थितिमा सम्पूर्ण कन्सल्टेन्सीहरू संयमित र सतर्क रहँदै आफ्ना सम्पूर्ण कानुनी कागजातहरू चुस्त र अपडेट राख्न सुझाव दिनुभयो।
त्यसैगरी, संघका पूर्व अध्यक्ष गणेश शर्माले KECAN को कार्य प्रगति र सक्रियताको प्रशंसा गर्दै धन्यवाद ज्ञापन गर्नुभयो। कार्यक्रमको सञ्चालन भने संघका महासचिव प्रमोद ढुङ्गानाले गर्नुभएको थियो। उपस्थित सम्पूर्ण सदस्यहरूले संघको हित र व्यवसायीको सुरक्षाका लागि एकजुट भएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend