काठमाडौं । काठमाडौं महानगरपालिका–२९ पुतलीसडकस्थित एक शैक्षिक परामर्श केन्द्रमा सरकारी छाप तथा दस्तखत किर्ते गरी नक्कली कागजात तयार पारिरहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार पुतलीसडकमा पुष्पराज राईले सञ्चालन गर्दै आएको Passion Foundation Consultancy (प्यासन फाउन्डेसन कन्सल्टेन्सी) मा सरकारी छाप तथा दस्तखत किर्ते गरी विभिन्न प्रकारका नक्कली कागजात तयार पारिरहेको विशेष सूचना प्राप्त भएपछि प्रहरीले कारबाही अघि बढाएको हो।
मिति २०८३ साल साउन २६ गते दिउँसो करिब १ बजे प्रहरी वृत्त सिंहदरबारबाट खटिएको टोलीले कन्सल्टेन्सीमा पुगेर जाँच गर्दा विभिन्न नगरपालिका तथा गाउँपालिकाका फर्जी कागजात तथा छाप फेला पारेको प्रहरीले जनाएको छ। त्यस्तै, सहकारी संस्था तथा विद्यालयका फर्जी लेटरप्याड र अन्य कागजातसमेत बरामद गरिएको छ।
प्रहरीले घटनास्थलबाट दुई थान ल्यापटपलगायत नक्कली कागजात तयार पार्न प्रयोग भएको आशंका गरिएका विभिन्न सामग्रीसमेत नियन्त्रणमा लिएको जनाएको छ। बरामद सामग्रीका आधारमा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा झापाको गौरीगञ्ज गाउँपालिका स्थायी घर भई हाल ललितपुर बस्दै आएका ३४ वर्षीय सन्दीप कार्की, अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–११ स्थायी घर भई हाल बुढानीलकण्ठ बस्दै आएकी २५ वर्षीया संगिता मगर र नुवाकोटको बेलकोटगढी नगरपालिका–५ स्थायी घर भई हाल गोंगबु बस्दै आएकी २० वर्षीया अंकिता नेपाल रहेका छन्।
पक्राउ परेका तीनै जनाविरुद्ध लिखतसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ। प्रहरीले काठमाडौं जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रहरीले नक्कली कागजात निर्माण तथा सरकारी छाप र दस्तखतको दुरुपयोगसम्बन्धी घटनामा अन्य व्यक्तिको संलग्नता भए–नभएको विषयमा समेत अनुसन्धान गरिरहेको जनाएको छ। अनुसन्धानका क्रममा बरामद भएका कागजात, ल्यापटप तथा अन्य सामग्रीको परीक्षण गरिने प्रहरीले जनाएको छ।
प्रहरी उपरीक्षक दानबहादुर थापाले २०८३ साल साउन २७ गते जारी गरेको विज्ञप्तिमार्फत घटनाबारे जानकारी दिँदै पक्राउ परेकामाथि अनुसन्धान जारी रहेको जनाएका छन्।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend