ललितपुर — मच्छापुच्छ्रे आईबी वर्ल्ड स्कुलमा ‘स्कुल आर्ट एक्जिबिशन २०८३’ सम्पन्न भएको छ। विद्यार्थीहरूमा रहेको सिर्जनशीलता, कल्पनाशक्ति, कलात्मक क्षमता तथा व्यवहारिक सिकाइलाई उजागर गर्ने उद्देश्यले आयोजना गरिएको प्रदर्शनीमा विद्यार्थीहरूले विभिन्न विधाका कलात्मक तथा शैक्षिक परियोजना प्रस्तुत गरेका थिए।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल होमनाथ आचार्यले प्रमुख अतिथि तथा वरिष्ठ कलाकार प्रमिला बज्राचार्यलाई स्वागत गरेका थिए। कार्यक्रममा विद्यालय परिवार, शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
प्रदर्शनीमा विद्यार्थीहरूले आईबी मोडलमा आधारित चित्रकला, कलर पेन्टिङ, क्ले वर्क, हस्तकला तथा विभिन्न सिर्जनात्मक परियोजना प्रस्तुत गरेका थिए। विद्यार्थीहरूले अध्ययनका क्रममा प्राप्त ज्ञानलाई कलात्मक सिर्जनामार्फत अभिव्यक्त गर्दै आफ्ना परियोजनाको अवधारणा र निर्माण प्रक्रियाबारे अभिभावक तथा आगन्तुकलाई जानकारी गराएका थिए।
विशेषगरी विद्यार्थीहरूले तयार पारेका रंगीन चित्र, विभिन्न आकृतिका क्ले वर्क तथा प्रयोगात्मक कलाकृतिले प्रदर्शनीलाई आकर्षक बनाएको थियो। कलाका माध्यमबाट विषयवस्तुलाई बुझ्ने र आफ्नो सोचलाई सिर्जनात्मक रूपमा प्रस्तुत गर्ने अवसरले विद्यार्थीहरूमा आत्मविश्वास, कल्पनाशक्ति, अनुसन्धान क्षमता तथा समस्या समाधान गर्ने सीप विकास गर्न सहयोग पुगेको विद्यालयले जनाएको छ।
प्रमुख अतिथि वरिष्ठ कलाकार प्रमिला बज्राचार्यले विद्यार्थीहरूले प्रस्तुत गरेका कलाकृति तथा परियोजनाको अवलोकन गर्दै उनीहरूको सिर्जनशीलताको प्रशंसा गरेकी थिइन्। उनले बालबालिकाको कलात्मक प्रतिभालाई सानै उमेरदेखि प्रोत्साहन गर्नुपर्नेमा जोड दिँदै यस्ता प्रदर्शनीले विद्यार्थीलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने बताइन्।
अभिभावकहरूले पनि प्रदर्शनीमा राखिएका विद्यार्थीका परियोजनाको अवलोकन गर्दै उनीहरूको मेहनत, सिर्जनशीलता र सिकाइ प्रक्रियाको प्रशंसा गरेका थिए। विद्यालयले अभिभावकलाई विद्यार्थीको कक्षाकोठाभित्रको सिकाइ र सिर्जनात्मक यात्रासँग प्रत्यक्ष जोड्ने उद्देश्यले यस्ता कार्यक्रमलाई महत्व दिँदै आएको जनाएको छ।
कार्यक्रमको अन्त्यमा विद्यालयका प्रिन्सिपल होमनाथ आचार्यले प्रमुख अतिथि वरिष्ठ कलाकार प्रमिला बज्राचार्यलाई मायाको चिनो प्रदान गरेका थिए। मायाको चिनो प्रदान गर्दै उनले विद्यालयको कला प्रदर्शनीमा उपस्थित भई विद्यार्थीलाई हौसला प्रदान गरेकोमा प्रमुख अतिथिप्रति आभार व्यक्त गरेका थिए।
‘स्कुल आर्ट एक्जिबिशन २०८३’ ले विद्यार्थीको सिर्जनशीलता, आत्मविश्वास र व्यवहारिक सिकाइलाई अभिव्यक्त गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको विद्यालयले जनाएको छ।

© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend