काठमाडौं — नेपाल शैक्षिक परामर्श संघ (ECAN) र गैरआवासीय नेपाली संघ (NRNA) बीच विदेश अध्ययनका लागि जाने तथा विदेशमा अध्ययनरत नेपाली विद्यार्थीको हित, सुरक्षा र कल्याणलाई थप प्रभावकारी बनाउने उद्देश्यले सहकार्यसम्बन्धी समझदारीपत्र (MOU) मा हस्ताक्षर भएको छ।
एनआरएनएको केन्द्रीय कार्यालय, बालुवाटारमा आयोजित कार्यक्रममा ECAN अध्यक्ष लक्ष्मण पौडेल (एन्ड्रु) र NRNA अध्यक्ष डा. हेमराज शर्माको उपस्थितिमा दुई संस्थाबीच समझदारीपत्र आदानप्रदान गरिएको हो। समझदारीअनुसार विदेश अध्ययनमा जाने विद्यार्थीलाई स्वदेशमै आवश्यक शैक्षिक परामर्श तथा प्रस्थानपूर्व अभिमुखीकरण प्रदान गर्नुका साथै विदेश पुगेपछि आवास, रोजगारी, स्थानीय कानुन, स्वास्थ्य, सुरक्षा, मानसिक स्वास्थ्य, कल्याण तथा आपत्कालीन अवस्थासम्बन्धी आवश्यक सूचना, सहजीकरण र सहयोग उपलब्ध गराउन दुवै संस्थाले सहकार्य गर्नेछन्। विशेषगरी ‘स्वदेशमा ECAN, विदेशमा NRNA’ अवधारणालाई प्रभावकारी बनाउँदै ECAN को शैक्षिक परामर्श संस्थागत सञ्जाल र NRNA को विश्वव्यापी राष्ट्रिय समन्वय परिषद् (NCC) सञ्जालबीच समन्वय गर्ने लक्ष्य राखिएको छ। विद्यार्थीलाई आवश्यक पर्दा अभिभावकीय तथा व्यावहारिक सहयोग उपलब्ध गराउने संयन्त्र विकासमा समेत सहकार्य गरिनेछ। समझदारीले शैक्षिक परामर्श क्षेत्रमा नैतिक, पारदर्शी र व्यावसायिक अभ्यास प्रवर्द्धन, विद्यार्थीको व्यक्तिगत सूचना तथा गोपनीयताको संरक्षण, आपत्कालीन सम्पर्क संयन्त्रको सम्भाव्यता अध्ययन तथा संयुक्त रूपमा प्रस्थानपूर्व र गन्तव्य मुलुक पुगेपछिका अभिमुखीकरण कार्यक्रम सञ्चालनलाई प्राथमिकता दिएको छ।
NRNA अध्यक्ष डा. शर्माले विदेशमा अध्ययनरत विद्यार्थीले रोजगारी, बसोबास, नयाँ वातावरणमा समायोजन, स्वास्थ्य तथा मानसिक स्वास्थ्यलगायत चुनौती सामना गर्नुपर्ने उल्लेख गर्दै सही सूचना र पूर्वतयारीबाट यस्ता समस्या न्यूनीकरण गर्न सकिने बताउनुभयो। ECAN अध्यक्ष पौडेलले सहकार्यलाई विद्यार्थीको सुरक्षित र व्यवस्थित अन्तर्राष्ट्रिय शैक्षिक यात्राका लागि महत्वपूर्ण सुरुवातका रूपमा व्याख्या गर्नुभयो। उहाँका अनुसार विदेशमा प्राप्त ज्ञान, सीप र अनुभवलाई नेपालको विकाससँग जोड्ने दीर्घकालीन अभियानमा समेत यस सहकार्यले योगदान पुर्याउनेछ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend