logo

२०८३ असोज ६ मंगलबार

बाढी प्रभावित रसुवा–त्रिशूली क्षेत्रका लागि जर्मनीको बहुआयामिक सहयोग

बाढी प्रभावित रसुवा–त्रिशूली क्षेत्रका लागि जर्मनीको बहुआयामिक सहयोग


हाम्रो राष्ट्र
  • मंगलबार, २३ भाद्र २०८३
  • 858
    SHARES

    काठमाडौं — गत अगस्ट २६ मा आएको आकस्मिक बाढीले रसुवा तथा त्रिशूली नदी करिडोर क्षेत्रका १५ वटा नगरपालिकामा घर, सडक, पुल र स्वास्थ्य संस्थामा ठूलो क्षति पुर्‍याएपछि जर्मनीले नेपाललाई आपत्कालीन राहत, मानवीय सहायता तथा दीर्घकालीन पुनर्निर्माण र उत्थानशीलताका लागि सहयोग गर्ने घोषणा गरेको छ। यस कठिन समयमा जर्मनीले नेपाल सरकार र प्रभावित समुदायहरूसँग सहकार्य गर्दै सहयोग अघि बढाएको छ।

    जर्मनीको सहयोग मुख्य तीन क्षेत्रमा केन्द्रित छ। पहिलो चरणअन्तर्गत जर्मनीको प्राविधिक राहत संस्था (THW), जर्मन राज्य फ्राइस्टाट थुरिङ्गेन र DLRG मार्फत ५ लाख ११ हजार युरो बराबरको आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको छ, जसको समन्वय युरोपेली संघले गरेको छ। दोस्रो चरणमा, स्थानीय गैरसरकारी संस्थाहरूको माध्यमबाट प्रभावित समुदायलाई तत्काल सहयोग पुर्‍याउन २ लाख युरो मानवीय सहायता उपलब्ध गराइनेछ।

    दीर्घकालीन पुनर्निर्माण र उत्थानशीलता अभिवृद्धिका लागि ७ दशमलव ३५ मिलियन युरो बराबरको विकास सहयोग प्रदान गरिने भएको छ। यो सहयोग स्वास्थ्य सेवा, स्वच्छ ऊर्जा र जलवायु अनुकूलनमा केन्द्रित हुनेछ। यसको कार्यान्वयन GIZ Nepal ले नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँगको साझेदारीमा गर्नेछ।

    यसका अतिरिक्त, जर्मनीले संयुक्त राष्ट्रसंघको केन्द्रीय आपत्कालीन प्रतिक्रिया कोष (CERF) र युरोपेली संघको मानवीय सहायता कोषमार्फत पनि योगदान पुर्‍याउँदै आएको छ।

    जर्मनीले नेपाल सरकार र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) सँगको समन्वयमा तत्काल राहत तथा उद्धारका साथै दीर्घकालीन उत्थानशील समुदाय निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। बाढीबाट प्रभावित तथा ज्यान गुमाएका पीडित परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै जर्मनीले दुई देशबीचको गहिरो साझेदारी र मानवीय गरिमाको संरक्षणप्रति आफ्नो प्रतिबद्धता पुनः दोहोर्‍याएको छ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend