काठमाडौँ— गत भदौ १० (अगस्ट २६) गते आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा तत्काल राहत तथा पुनःलाभ कार्यलाई तीव्र बनाउन फ्रान्सेली दूतावासले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) लाई आपतकालीन मानवीय सहायता सामग्री हस्तान्तरण गरेको छ। नेपाल सरकारले युरोपेली युनियनको ‘सिभिल प्रोटेक्सन मेकानिज्म’ मार्फत गरेको अनुरोधका आधारमा फ्रान्स सरकारले यो राहत सामग्री उपलब्ध गराएको हो।
नेपालका लागि फ्रान्सेली मनोनीत राजदूत फ्रान्स्वाज पुइग-इन्जाले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनलाई उक्त राहत सामग्री हस्तान्तरण गर्नुभएको हो। हस्तान्तरण गरिएका सामग्रीहरूमा भुइँमा बिछ्याउने म्याट, हाइजिन किट (सरसफाइ सामग्री), भान्साका सामान (किचन किट), पानी शुद्धीकरण चक्की, सोलार बत्तीका साथै आपतकालीन र सामान्य औषधि किटहरू रहेका छन्। सो अवसरमा राजदूत पुइग-इन्जाले दुःखद विपद्को यस घडीमा फ्रान्स नेपाली जनताको साथमा रहेको र युरोपेली युनियनसँग मिलेर प्रभावित समुदायको पुनरुत्थानमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।
यस प्रत्यक्ष आपतकालीन राहतका अतिरिक्त, फ्रान्स सरकारले बाढी प्रभावित क्षेत्रमा संयुक्त राष्ट्रसंघका निकायहरू, रेडक्रसको अन्तर्राष्ट्रिय महासंघ (IFRC) तथा फ्रान्सेली गैरसरकारी संस्थाहरू (याक्सन कन्त्रे ला फाम र ट्राइयाङ्गल जेनेरेसन ह्युम्यानितेर) मार्फत थप अन्तर्राष्ट्रिय सहायता पुर्याउने घोषणा गरेको छ। साथै, फ्रान्सेली दूतावासले विपद्मा ज्यान गुमाएकाका परिवार तथा नेपाल सरकारप्रति गहिरो समवेदना प्रकट गरेको छ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend