समरकन्द, उज्बेकिस्तान: ४६औँ चेस ओलम्पियाडमा नेपाली खेलाडी राजन सुवेदी र कृतिसरा अधिकारीले फिडे टाइटल प्राप्त गरेका छन्। राजनले क्यान्डिडेट मास्टर (सीएम) तथा कृतिसराले वुमन क्यान्डिडेट मास्टर (डब्लुसीएम)को टाइटल पक्का गरेका हुन्।
राजनले व्यक्तिगत ६ खेलबाट ४ अंक तथा कृतिसराले ७ खेलबाट ३ दशमलव ५ अंक जोड्दै टाइटल हासिल गरेका हुन्।
ओलम्पियाडमा नेपाली पुरुष टोलीले आठौँ चरणसम्म ८ अंक जोडेको छ। नेपालले कोमोरोस, टिमोर–लेस्टे, एन्टिगुवा एन्ड बार्बुडा र कतारलाई पराजित गरेको हो।
आठौँ चरणमा नेपालले कतारलाई ३–१ ले हराएको थियो। रुपेश जैसवाल, आशिष् फुयाँल र राजन सुवेदीले आ–आफ्ना खेल जित्दा सुश्रुत दाहाल पराजित भएका थिए।
तीन चरणका खेल बाँकी रहँदा ८ अंकसहित नेपाल चौथो स्थानमा छ। अफगानिस्तान, साउदी अरेबिया र इथियोपिया समान ८ अंकसहित टाइब्रेकका आधारमा शीर्ष तीन स्थानमा छन्।
यता नेपाली महिला टोली ६ अंकमा छ। नवौँ चरणमा पुरुष टोलीले लक्जेम्बर्ग तथा महिला टोलीले म्यानमारसँग प्रतिस्पर्धा गरिरहेका छन्।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend