logo

२०८३ कार्तिक २० बिहिबार

पाँचौँ नेपालभाषा मंका: खलः चेस च्याम्पियनसिपको उपाधि रुपेश जैसवाललाई

पाँचौँ नेपालभाषा मंका: खलः चेस च्याम्पियनसिपको उपाधि रुपेश जैसवाललाई


हाम्रो राष्ट्र
  • बिहिबार, २० कार्तिक २०८३
  • 455
    SHARES

    ललितपुर, कात्तिक १९: न्हूदँ समारोह समिति ११४७ को तत्त्वावधान तथा नेपालभाषा मंका: खलः यलको संयोजनमा आयोजित पाँचौँ नेपालभाषा मंका: खलः यल खुला फिडे ब्लिट्ज रेटिङ चेस च्याम्पियनसिप २०८३ आज ललितपुरमा सम्पन्न भएको छ।

    प्रतियोगितामा रौतहटका सिएम रुपेश जैसवाल उत्कृष्ट प्रदर्शन गर्दै च्याम्पियन बन्न सफल भएका छन्। उनले समान अंक प्राप्त गरेका युवा सिएम पुरुषोत्तम सिलवाललाई बुकोल्स टाइब्रेक नियमका आधारमा पछि पार्दै उपाधि जितेका हुन्। जैसवालले उपाधिसँगै नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे। यो प्रतियोगितामा उनको चौथो उपाधि हो।

    ललितपुर स्पोर्ट्स क्लबको प्राविधिक सहयोगमा सम्पन्न प्रतियोगितामा काठमाडौंका सिएम पुरुषोत्तम सिलवाल दोस्रो हुँदै ६ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्न सफल भए। त्यस्तै, ललितपुरका एआईएम अभिक शाह तेस्रो भए। उनले ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।

    प्रतियोगितामा सुनसरीका मुहान नरसिंह श्रेष्ठ चौथो, मकवानपुरका एफएम क्षितिज भण्डारी पाँचौँ र काठमाडौंका शुभदीप थापा छैटौँ भए। उनीहरूले क्रमशः ४ हजार, ३ हजार ५०० र ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।

    त्यसैगरी, पाँचथरका रिसोन थापा सातौँ, काठमाडौंका बद्रिलाल नेपाली आठौँ, दोलखाका आशिष फुयाल नवौँ र काठमाडौंका सजल न्यौपाने दसौँ स्थानमा रहे। उनीहरू प्रत्येकले २ हजार ५०० रुपैयाँ पुरस्कार प्राप्त गरे।

    विधागततर्फ उत्कृष्ट महिला खेलाडीमा खोटाङकी कुसुम घिसिङ प्रथम, ललितपुरकी त्रिसरा लामा दोस्रो र साँखुकी अन्शी जोशी तेस्रो भए। उनीहरूले क्रमशः २ हजार, १ हजार ५०० र १ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।

    अन्य विधागत पुरस्कारतर्फ ५५ वर्षमाथिको उत्कृष्ट भेट्रानमा ललितपुरका कृष्णमान महर्जन, उत्कृष्ट रेटिङ १८०० तर्फ मोरङका प्रेम खड्का, उत्कृष्ट रेटिङ १६०० तर्फ राजेन्द्र श्रेष्ठ, उत्कृष्ट युवा १६ वर्षमुनि ललितपुरका प्रलेश महर्जन, उत्कृष्ट युवा १४ वर्षमुनि काठमाडौंका प्रबिर केसी, उत्कृष्ट युवा १२ वर्षमुनि पाल्पाका अग्रिम सैंजु तथा उत्कृष्ट स्थानीय खेलाडीमा ललितपुरका सुरोज महर्जन घोषित भए। उनीहरू प्रत्येकले २ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।

    तीन मिनेट दुई सेकेन्डको इन्क्रिमेन्ट समय नियन्त्रणमा नौ चरणको स्विस लिग प्रणालीअनुसार सञ्चालन भएको प्रतियोगितामा कुल ६० हजार रुपैयाँ नगद पुरस्कार राखिएको थियो।

    पुरस्कार वितरण समारोहमा ललितपुर महानगरपालिका वडा नं. ७ का अध्यक्ष कुलबहादुर महर्जनले न्हूदँ कार्यक्रमअन्तर्गत बुद्धिचाल प्रतियोगिताले युवा खेलाडीलाई प्रोत्साहन र उत्प्रेरणा प्रदान गरेको बताए। उनले खेलकुदको विकासप्रति नगरपालिका सकारात्मक रहेको उल्लेख गर्दै यस्ता प्रतियोगितालाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गरे।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend