काठमाडौं, कात्तिक २१:मोडर्न कन्या कलेज, बानेश्वरको आयोजनामा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्तीका अवसरमा आज विशेष साहित्यिक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा वरिष्ठ कवि, साहित्यकार तथा विभिन्न पुस्ताका स्रष्टाहरूले देवकोटाको साहित्यिक योगदानको स्मरण गर्दै समसामयिक विषयवस्तुमा आधारित कविता वाचन गरे।
कार्यक्रममा हजुरबुबा पुस्ताका कविहरू कृष्ण बाउसे, डा. होमप्रसाद भट्टराई, प्रा. मुकुन्दराज दाहाल र प्रा. नन्दिश अधिकारीदेखि बा–आमा पुस्ताका सन्ध्या पहाडी, यादव भट्टराई, सावित्री रावल, सुवास पाण्डे, उपेन्द्रप्रसाद काफ्लेसम्मले आफ्ना सिर्जना प्रस्तुत गरे। त्यसैगरी नयाँ पुस्ताका मनिता आचार्य, रेनुका कँडेल, कल्पना कटुवाल, प्रकृति दाहाल, पूजा लामिछाने तथा चर्चित जेनजी कवि अञ्जन ढुङ्गेलले समेत कविता वाचन गरेका थिए।
कार्यक्रममा संविधानविद् काशीराज दाहाल, सविन पोखरेल, सिद्धार्थ लामा, अप्सरा थापा र हरिकृष्ण दाहाललगायतले महाकवि देवकोटाको व्यक्तित्व, साहित्यिक योगदान र सिर्जनात्मक प्रतिभाबारे चर्चा गरेका थिए।
दीप प्रज्वलन तथा महाकवि देवकोटाको तस्बिरमा माल्यार्पण गरी कार्यक्रमको उद्घाटन वरिष्ठ साहित्यकार एवं शिक्षाविद् प्रा. डा. रामप्रसाद दाहालले गरेका थिए। उनले देवकोटाको बहुआयामिक प्रतिभा र नेपाली साहित्यमा पुर्याएको अतुलनीय योगदानबारे प्रकाश पारेका थिए।
कार्यक्रममा समाजसेवी तथा साहित्यप्रेमी ज्ञानेन्द्र भट्टराई, प्रा. अच्युत दाहाल, सानु घले, मुना बोहरा, केशव दाहाल, कृष्ण दाहाल, दुर्गा लक्ष्मी श्रेष्ठ, उषा चालिसे, सञ्चारकर्मी सुरेन्द्र पौडेल, रमा न्यौपाने, सुनिता केसी र दीपेन्द्र बस्नेतलगायत करिब ८० जनाको उपस्थिति रहेको थियो।
सोही अवसरमा कालिम्पोङ निवासी शिक्षासेवी तथा कवि सिद्धार्थ लामालाई नगद २५ हजार रुपैयाँसहित सम्मान गरिएको थियो।
कार्यक्रममा काग तिहारको शुभकामना आदानप्रदान गर्दै नेपाली साहित्य, सिर्जना र पुस्तान्तरणबीचको सम्बन्धलाई थप सुदृढ बनाउने सन्देशसमेत व्यक्त गरिएको थियो।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend