काठमाडौं: लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको सुरुवातसँगै युवालाई कानून निर्माण प्रक्रियामा सहभागी गराउने र विधायिकी प्रक्रियाबारे व्यावहारिक जानकारी प्रदान गर्ने उद्देश्यले ‘लिबर्टी थ्रु लेजिस्लेटिभ ट्रान्सपरेन्सी’ कार्यक्रम डिल्लीबजार कन्या क्याम्पसमा शुभारम्भ गरिएको छ।
महिलाको शैक्षिक तथा सामाजिक सशक्तीकरणसँगै आफूलाई प्रभावित गर्ने कानून, नीतिगत निर्णय र विधायिकी प्रक्रियाबारे जानकारी राख्न तथा त्यसमा आफ्नो विचार प्रस्तुत गर्न सक्ने अवसर प्रदान गर्ने उद्देश्यले अभियानको प्रारम्भमा महिला क्याम्पसलाई कार्यक्रमस्थलका रूपमा छनोट गरिएको हो।
कार्यक्रममा डिल्लीबजार कन्या क्याम्पस सञ्चालक समितिका अध्यक्ष डा. रुद्र शर्मा प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका निवर्तमान सचिव उदयराज सापकोटा र संघीय संसद्, राष्ट्रिय सभाका निवर्तमान सचिव राजेन्द्र फुयाल विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रमको अध्यक्षता क्याम्पस प्रमुख अपराजिता अर्यालले गर्नुभएको थियो।
कार्यक्रमकी पहलकर्ता ऋगा शर्मा, नेपाल ल क्याम्पसमा बी.ए.एल.एल.बी. अध्ययनरत विद्यार्थी तथा Students For Liberty (SFL) की राष्ट्रिय नेतृत्व संयोजकले अभियानको उद्देश्यबारे प्रकाश पार्दै कानून निर्माण प्रक्रिया नागरिकका लागि सहज, पारदर्शी र सहभागितामूलक हुनुपर्ने बताउनुभयो।
Students For Liberty विद्यार्थी नेतृत्वमा आधारित अन्तर्राष्ट्रिय संस्था हो, जसले व्यक्तिगत स्वतन्त्रता, सीमित सरकार तथा नागरिक अधिकारका पक्षमा युवा पुस्तालाई जागरूक र नेतृत्वदायी बनाउन प्रोत्साहित गर्दछ। यही अवधारणालाई विधायिकी सहभागितासँग जोड्दै विद्यार्थीलाई कानून निर्माण प्रक्रियामा आफ्नो भूमिका पहिचान गर्न अभियानले प्रेरित गर्ने लक्ष्य राखेको छ।
कार्यक्रममा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको आधिकारिक वेबसाइटको व्यावहारिक प्रदर्शनसमेत गरिएको थियो। प्रदर्शनमार्फत विद्यार्थीलाई कानून तथा विधेयकसम्बन्धी जानकारी प्राप्त गर्ने, विधेयक र कानूनको अध्ययन गर्ने तथा तिनमा आफ्ना सुझाव प्रस्तुत गर्ने प्रक्रियाबारे जानकारी गराइएको थियो। कानून निर्माणमा नागरिकको सहभागिता नीति निर्माता र कानुनी क्षेत्रका व्यक्तिमा मात्र सीमित नभई सर्वसाधारणले समेत आफ्नो विचार, सुझाव र सरोकार राख्न सक्ने अवसर भएको विषयमा जोड दिइएको थियो।
अभियानअन्तर्गत विद्यार्थीको सहभागिता अझ प्रभावकारी बनाउन विधायिकी प्रतियोगितासमेत सञ्चालन गरिनेछ। प्रतियोगितामा सहभागीले कुनै विद्यमान कानून संशोधनका लागि उत्कृष्ट प्रस्ताव तयार गर्न वा मन्त्रालयमा विचाराधीन कानूनको मस्यौदा विधेयकमा सुधार तथा सुझाव प्रस्तुत गर्न सक्नेछन्। विद्यार्थीलाई कानूनको अध्ययन र विश्लेषणमा संलग्न गराउँदै विद्यमान कानुनी व्यवस्था सुधार तथा सार्वजनिक नीतिमा रचनात्मक योगदान दिन प्रोत्साहित गर्नु प्रतियोगिताको उद्देश्य रहेको छ।
प्रतियोगितामा उत्कृष्ट प्रस्ताव प्रस्तुत गर्ने सहभागीलाई प्रथम, द्वितीय र तृतीय स्थानका लागि क्रमशः ५ हजार, ३ हजार र २ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। पुरस्कारमार्फत विद्यार्थीको सिर्जनात्मकता, आलोचनात्मक सोच र कानून सुधारका लागि प्रस्तुत गरिएका व्यावहारिक सुझावलाई प्रोत्साहन गरिने आयोजकले जनाएको छ।
‘लिबर्टी थ्रु लेजिस्लेटिभ ट्रान्सपरेन्सी’ कार्यक्रमले नागरिक र कानून निर्माण प्रक्रियाबीचको दूरी कम गर्दै विधायिकी पारदर्शिता, सार्वजनिक परामर्श तथा नागरिक सहभागिताको संस्कृति विकास गर्ने लक्ष्य राखेको छ। विद्यार्थीलाई आफूमा लागू हुने कानूनबारे जानकारी राख्ने मात्र नभई कानून निर्माण र सुधारमा समेत योगदान दिन सक्ने सचेत नागरिकका रूपमा विकास गर्नु अभियानको दीर्घकालीन उद्देश्य हो।
कानून निर्माण प्रक्रियामा जनताको आवाज र सुझावलाई स्थान दिन सके लोकतान्त्रिक सहभागिता अझ अर्थपूर्ण बन्ने विश्वासका साथ यस अभियानले नेपालका युवालाई कानून निर्माण प्रक्रियामा सक्रिय, सूचित र जिम्मेवार सहभागिताका लागि प्रोत्साहित गर्ने अपेक्षा गरिएको छ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend