काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले समाजमा भएका शोषण, दमन र निरङ्कुशतासँग जुधेर लोकतन्त्रका मूल्य, मान्यता स्थापित गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन् ।
३०औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा अध्यक्ष नेपालले आज विज्ञप्ति जारी गरी जनताको लामो सङ्घर्षबाट प्राप्त राजनीतिक उपलब्धिलाई समाप्त गर्न कम्युनिष्ट आन्दोलन विसर्जनवादतर्फ उन्मुख भएकाले लोकतान्त्रिक माध्यमबाट सामाजिक न्यायसहितको समाजवादको आधार निर्माण गर्ने उद्देश्यले पार्टी पुनर्गठन गरिएको बताए ।
पुष्पलाल श्रेष्ठले कोरेको जनवादी क्रान्तिको रुपरेखाको उत्तराधिकार ग्रहण गर्दै एकीकृत समाजवादीले यस क्रान्तिलाई उच्चतम लक्ष्यसम्म पुर्याउने सङ्कल्प गरिएको विज्ञप्तिमा उल्लेख छ ।
विश्वभर रक्षात्मक रहेको कम्युनिष्ट आन्दोलन तत्कालीन समयमा अग्रज नेता मदनकुमार भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादले नेपाली क्रान्तिको मौलिक सिद्धान्तलाई स्थापित गरी अन्तर्राष्ट्रिय तहमा कम्युनिष्ट विचार तथा आन्दोलनलाई उचाइमा पु¥याएको अध्यक्ष नेपालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
नेपाली कम्युनिष्ट आन्दोलनका नवीन विचारक, सिद्धान्तकार, लोकतान्त्रिक र देशभक्तिपूर्ण आन्दोलनको नेतृत्वकर्ता जननेता भण्डारी र कुशल सङ्गठक जीवराज आश्रितले पार्टीको विधि विधान, सिद्धान्त, नीति र आदर्शअनुरुप सङ्गठन निर्माणमा गरेको अतुलनीय योगदानको स्मरणका साथै अध्यक्ष नेपालले उहाँहरुप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend