logo

२०८३ साउन १४ बिहिबार

जनतामा भएको आकाङ्क्षा सम्बोधन गर्न अहिलेकै संयन्त्र र साधनस्रोतले सम्भव छैनः सांसद केसी

जनतामा भएको आकाङ्क्षा सम्बोधन गर्न अहिलेकै संयन्त्र र साधनस्रोतले सम्भव छैनः सांसद केसी


हाम्रो राष्ट्र
  • मंगलबार, ९ जेष्ठ २०८०
  • 858
    SHARES

    काठमाडौं । सांसद अर्जुननरसिंह केसीले भ्रष्टाचारमुक्त समाज निर्माण नहुँदासम्म सुशासन कायम हुन नसक्ने स्पष्ट पारेका छन् ।

    प्रतिनिधिसभाको मंगलबारको बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षकोे नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सांसद केसीले नीति तथा कार्यक्रममा सुशासनप्रतिको प्रतिबद्धता गरिएको भन्दै सुशासन कायम गर्नका लागि भ्रष्टाचारमा शून्य सहनशीलता आवश्यक रहेको बताए ।

    ‘हामीले प्रत्येक वर्षको बजेट र नीति तथा कार्यक्रममा भ्रष्टाचारप्रति शून्य सहनशीलताको कुरा गर्छौ तर यो कुरा सुन्दा–सुन्दा जनताको कान टट्याइसकेको छ’, उनले भने, ‘अब भ्रष्टाचारप्रतिको शून्य सहनशीलता व्यवहारमा उतार्न सक्नुपर्छ ।’ उनले स्थानीय र प्रदेश तहमा पनि बेरुजु देखिएको बताए ।

    उनले प्रतिपक्षी दलका नेताले कुनै पनि कालखण्डको भ्रष्टाचार छानबिनको कुरा गरिसकेको भन्दै सरकारलाई काम गर्न सहज भएको बताए ।

    उनले बेरोजगारी, महँगी तथा श्रमका लागि विदेशमा जानुपर्ने समस्या समाधान गर्न आग्रह गरे । उनले कृषिमा औद्योगिकीकरण, व्यापारिकरण र व्यावसायीकरण गर्न निरन्तर आवाज उठाउँदै आइएको भन्दै किसानलाई सक्षम, सुदृढ र सबल बनाएर कृषि क्षेत्रलाई विशेषरुपले प्रभावकारी रुपमा परिचालन गर्न सकियो भने विदेश पलायन हुने युवाहरुलाई आकर्षित गर्न सकिने बताए ।

    उनले भनसुनको राजनीति र मनसुनको खेतीमा निर्भर रहने अवस्थाले राष्ट्रिय अर्थतन्त्रलाई राष्ट्रिय दिशानिर्देशन गर्ने विषयमा सबल र सुदृढ गराउन नसक्ने बताए ।

    ‘नीति तथा कार्यक्रम आशावादी छ तर कार्यान्वयनको प्रतिबद्धतासहित संस्थागत विकास र व्यवस्थापकीय सहयोग जरुरी छ’, उनले भने, ‘जनतामा भएको आकाङ्क्षा सम्बोधन गर्न अहिलेकै संयन्त्र र साधनस्रोतले सम्भव छैन ।’

    उनले नीति तथा कार्यक्रममा सर्वसुलभ शिक्षाको विषय उठान गरिए पनि अझै पनि सङ्घीय शिक्षा ऐन र शिक्षा नीति आउन नसकेको बताए । उनले सङ्घीय शिक्षा ऐन नबन्दा केन्द्र, प्रदेश र स्थानीयतहमा शैक्षिक अराजकताको अवस्था निर्माण भइरहेका बताए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend