logo

२०८३ साउन १३ बुधबार

नक्कली शरणार्थी प्रकरणको अनुसन्धानमा कुनै प्रकारको अवाञ्छित प्रभाव परेको छैनः गृहमन्त्री

नक्कली शरणार्थी प्रकरणको अनुसन्धानमा कुनै प्रकारको अवाञ्छित प्रभाव परेको छैनः गृहमन्त्री


हाम्रो राष्ट्र
  • बिहिबार, ११ जेष्ठ २०८०
  • 988
    SHARES

    काठमाडौँ । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा कुनै प्रकारको अवाञ्छित प्रभाव नपरेको स्पष्ट पारेका छन् ।

    बिहीबार गृह मन्त्रालयमा राष्ट्रिय युवा संघ, नेपालको ज्ञापनपत्र बुझ्दै गृहमन्त्री श्रेष्ठले शरणार्थी प्रकरणको अनुसन्धानमा दवाव र प्रभाव नपरेको बताएका हुन् ।

    उनले स्वतन्त्र र निष्पक्ष ढंगमा छानबिन गरेर निष्कर्षमा पुर्याउन दिएको कार्यादेश प्रहरीले सफलतापूर्वक पूरा गरेको भन्दै नेपाल प्रहरीको प्रशंसा गरे ।

    उनले भने, ‘निर्दोषलाई फसाएर प्रतिष्ठानमा आँच आउने काम हुँदैन। दोषीलाई छाड्न दवाव आयो भने झेल्न म तयार छु भनेर प्रहरीलाई भनेको छु। छानबिनमा कुनै षड्यन्त्र भएको छैन, ढुक्क हुनुहोस्।’

    प्रहरीले बयान र बयानसँग मेल खाने तथ्यप्रमाणलाई समेत आधार लिएर अनुसन्धान गरेकाले नाम आएका केही व्यक्ति तत्काल छानबिनको दायरामा नपरेको उनले बताए । उनले भने, ‘एउटाले बयान लिइएकै आधारमा मुद्दा चलाउन नमिल्ने भएकाले प्रहरी संयन्त्र अन्य प्रमाण जुटाउन सक्रिय छ। अनुसन्धानले पुष्टि भएको आधारमा छानबिन अघि बढ्छ ।’

    गृहमन्त्री श्रेष्ठले प्रहरीले प्रतिवेदन तयार पारेर मुद्दा दर्ता गरिसकेकाले अब अदालतको फैसला पर्खनुपर्ने बताए । राष्ट्रिय युवा संघ, नेपालको टोलीले गृहमन्त्री श्रेष्ठसँग भेट गरी शरणार्थी प्रकरणमा मुछिएका सबैलाई पक्राउ गर्न र दोषीमाथि कडा कारबाही गर्न माग गरेको छ । भ्रष्टाचार शरणार्थी प्रकरणविरुद्ध सक्रिय भए पनि पछिल्ला दिनमा केही सुस्त भएको संघको ज्ञापनपत्रमा उल्लेख छ।

    संघले यस प्रकरणमा मुछिएका सबैमाथि छानबिन गर्नुपर्ने माग गरेको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको छ। बुधबार सरकारी वकिलको कार्यालयले ३० जना प्रतिवादीविरुद्ध अदालतमा अभियोगपत्र दर्ता गरेको हो। उनीहरूविरुद्ध ठगी, सरकारी कागजात कीर्ते, राष्ट्रहितविरुद्धको कसुर र संगठित अपराध मुद्दामा कारबाही गर्न माग गरिएको हो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend