काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले व्यक्तिले गरेको गल्तीको दोष प्रणालीलाई दिन नहुने बताएकी छन् । सामुदायिक सूचना नेटवर्क सीआईएनको १५औँ स्थापना दिवसको अवसरमा आइतबार आयोजित कार्यक्रममा मन्त्री शर्माले पदमा पुगेका केही व्यक्तिले गरेका गैरकानूनी कामलाई लिएर सिङ्गो गणतन्त्रलाई नै बदनाम गराउने गरिएकोप्रति असहमति जनाउँदै त्यस्तो गर्न नहुने बताइन् ।
सरकार सञ्चालनका क्रममा गल्ती कमजोरी गर्नेलाई कानूनअनुसार कारबाही गर्ने प्रावधान पनि गणतन्त्रमा रहेको उल्लेख गर्दै उनले उनीहरूलाई कारबाही गर्न सबै एकै ठाउँमा उभिनुपर्ने बताइन् । गणतन्त्रको विकल्प गणतन्त्र मात्र रहेको भन्दै उनले गणतन्त्र दिवस मनाउनु हिजोका राजा महाराजाको जन्म दिन मनाएको जस्तो नभएको बताइन् ।
मन्त्री शर्माले सङ्घीय गणतन्त्रप्रति आम नागरिकको अपनत्व बढाउनका लागि सरकारले यस वर्ष तीन दिनसम्म गणतन्त्र दिवस भव्यताका साथ मनाउन लागेको जानकारी दिइन् । उनले प्रविधिको विकासलगायत कारण रेडियो, टेलिभिजन र छापा माध्यमकै भविष्यप्रति संशय उत्पन्न हुने गरेको भन्दै आम नागरिकका समस्याको उठान गर्ने र गुणस्तरीय सामग्री उत्पादन गर्न सके आमसञ्चार माध्यमको भविष्य सधैँ उज्यालो रहेको बताइन् ।
।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend