logo

२०८३ साउन १४ बिहिबार

नेपालमा पर्यटन क्षेत्रलाई सही ढङ्गले उपयोग गर्नुपर्छः श्रममन्त्री भण्डारी

नेपालमा पर्यटन क्षेत्रलाई सही ढङ्गले उपयोग गर्नुपर्छः श्रममन्त्री भण्डारी


हाम्रो राष्ट्र
  • आइतबार, १४ जेष्ठ २०८०
  • 858
    SHARES

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले नेपालको पर्यटन क्षेत्रलाई सही ढङ्गले उपयोग गर्नुपर्ने बताएका छन् । पूर्वप्रशासक एवं विश्व सम्बन्ध परिषद्का अध्यक्ष हेमन्त खरेलद्वारा लिखित ‘पर्यटन र समृद्धि’ पुस्तकको लोकापर्ण गर्दै उनले प्रचुर सम्भावना रहेको नेपालको पर्यटन क्षेत्रलाई सही ढङ्गले अगाडि बढाउनुपर्ने बताएका हुन् ।

    “नेपालका पर्यकीय सम्भावना बोकेका क्षेत्रमा आन्तरिक पर्यटक प्रवर्द्धन गर्नसके मात्र बाह्य पर्यटक बढ्ने भएकाले आन्तरिक पर्यटक प्रवर्द्धनमा सबै लाग्नुपर्छ”, मन्त्री भण्डारीले भने ।

    उनले आफू पर्यटनमन्त्री भएका बेलामा तराई पर्यटकको अवधारणा अगाडि सारेको स्मरण गरे । “नेपालको पर्यटन क्षेत्रलाई अगाडि बढाउन व्यवसायी नै लाग्नुपर्छ, सरकारले आवश्यक सहजीकरण गर्नुपर्छ”, उनले भने ।

    आफ्नो विज्ञता नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्ने उनको भनाइ थियो । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं प्रतिनिधिसभा सदस्य पशुपतिशम्शेर जबराले आफूले घुमेका संसारका मुलुकमध्ये उत्कृष्ट मुलुक नेपाल भएकाले यसलाई विश्वमाझ चिनाउन जरुरी रहेको बताए ।

    “हिमालको हिउँदेखि तराईका फाँटसम्म नेपालमा छन्, संसारका अन्य मुलुकमा यस्तो देख्न पाइँदैन”, उनले भने । जबराले नेपालको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरमा विज्ञापन गर्नुपर्ने उल्लेख गरे । पर्यटनको अथाह सम्भावना बोकेको नेपाल पर्यटकका लागि सुन्दर मुलुक भएको उनको भनाइ थियो ।

    नेपाली कांग्रेसका नेता एवं सङ्खुवासभाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य दीपक खड्काले छिमेकी मुलुक चीन र भारतको पर्यटकलाई लक्षित गर्न सके मात्र पनि नेपालको पर्यटन क्षेत्रले फड्को मार्न सक्ने बताए ।

    “एक पर्यटक नेपालमा आए तीन जनाले प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा रोजगारी पाउँछन्, २० लाख पर्यटक भित्राउन सकिए ६० लाख नेपालीले प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा रोजगारी पाउँछन्, नौ खर्बभन्दा बढी राजस्व आम्दानी हुन्छ”, नेता खड्काले भने ।

    नेपालको अर्थतन्त्रको प्रमुख आधार भनेको पर्यटन र ऊर्जा रहेको उनको भनाइ थियो । ‘पर्यटन र समृद्धि’ पुस्तकले नेपालको पर्यटन क्षेत्रको विकास र समृद्धिमा टेवा पुग्ने नेता खड्काले बताए ।

    पुस्तकको समीक्षा गर्दै पूर्वराजदूत प्रा डा मोहनप्रसाद लोहनीले नेपालको पर्यटन क्षेत्रको सम्भावनालाई पुस्तकमा प्रष्टरूपमा उजागर गर्न खोजिएको बताए । पर्यटनको आधारलाई पहिल्याउन सकिए समृद्धि हासिल गर्न सकिने उनको भनाइ थियो । प्रा डा लोहनीले नेपालको पर्यटन क्षेत्रमा देखिएका चुनौतीलाई विश्लेषण गरेर अगाडि बढ्नुपर्ने बताए । पर्यटन विकासका लागि पूर्वाधार आवश्यक रहेको उनको भनाइ थियो ।

    विभिन्न छ भागमा विभाजन गरेर लेखिएको उक्त पुस्तकमा समृद्धि, पर्यटनको उत्पत्ति, पर्यटनको महत्व र आधार, नेपालको समृद्धिमा पर्यटनको विकास, नेपालको पर्यटकीय आकर्षण केन्द्रहरू र पर्यटन क्षेत्रको सम्भावना र चुनौतीलाई समावेश गरिएको लेखक खरेलले बताए ।

    अल्केमी पब्लिकेशनबाट प्रकाशित उक्त पुस्तक दुई सय २४ पृष्ठको रहेको छ । लेखक खरेलले कोरोनाको समयमा घरमा बस्नुपरेको समयलाई उपयोग गरी पुस्तक लेखेको बताए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend