काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरू हुने वित्तिकै प्रतिपक्षी दलहरूले उठेर विरोध गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयकको विषयमा दलहरूले विरोध जनाएका हुन् ।सरकारले संवैधानिक प्रकृया अनुरूप नागरिकता विधेयक संसद्बाट अघि नबढाएको भन्दै उनीहरूले विरोध जनाएका हुन् ।
विपक्षी दलका सांसदहरु विरोधमा उत्रिएपछि सभामुख देवराज घिमिरेले एमाले प्रमुख सचेतक पदम गिरीलाई बोल्ने समय दिएका थिए । गिरीले सरकारले संविधान मिचेको आरोप लगाए ।
सरकारले संविधानलाई पालना नगरेर उल्टो बाटोमा हिँडेको उनले बताए । उनले भने,’सरकारले नै संविधानलाई मिचेर अगाडि बढ्ने, मुलुकको राष्ट्रिय अखण्डतालाई नै प्रश्न उठ्ने खालको काम सरकारको तर्फबाट हुन थाल्यो।’
उनले प्रधानमन्त्रीले विदेशी भूमिमा गएर देशको भूभाग साटफेर गर्ने भनी दिएको अभिव्यक्ति राष्ट्रघाती रहेको भन्दै संसदमा प्रधानमन्त्रीको जवाफ माग गरे ।
उनले भने, ‘भारत भ्रमणका क्रममा प्रधानमन्त्रीले फूलबारी रुट बन्दरगाहको रुट पाउनका लागि कालापानी, लिपुलेक क्षेत्र पनि दिन तयार छौं भन्ने कुराले हामीलाई अपमान बोध भएको छ। यस्ता कुरा आउनु दुःखद कुरा हो। प्रधानमन्त्रीले अगाडि आएर माफी माग्नुपर्छ। माफी नमागेसम्म सदन चल्न सक्दैन ।’
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend