अमेरिकी केन्द्रीय बैङ्क, फेडरल रिजर्भका अध्यक्ष जेरोम पावेलले उच्च मुद्रास्फितिलाई नियन्त्रण गर्न अमेरिकी ब्याजदरमा थप वृद्धि आवश्यक पर्ने बताएका छन् । बैंकको फेडरल ओपन मार्केट कमिटी (एफओएमसी) ले एक वर्षभन्दा केही बढी समयको अन्तरालमा लगातार १० पटक ब्याजदर वृद्धि गरेपछि ब्याजदर स्थिर राख्ने पक्षमा अमेरिकी संसदमा मतदान गरेको केही समयपछि पावेल ‘हाउस’ र ‘सिनेट’समक्ष उपस्थित भएका हुन् ।
एफओएमसीका प्रायः सबै सहभागीहरूले यस वर्षको अन्त्यसम्ममा ब्याज दरलाई केही हदसम्म बढाउनु उपयुक्त हुने अपेक्षा गरेका छन् । मौद्रिक नीतिमा फेडको अर्धवार्षिक प्रतिवेदनमाथि छलफल गर्न अमेरिकी संसदसमक्ष उनको निर्धारित उपस्थितिले नीति निर्माताहरूलाई उच्च ब्याजदर र सुस्त आर्थिक वृद्धिको समयमा बैंकका सबैभन्दा वरिष्ठ अधिकारीलाई प्रश्न गर्ने मौका दिनेछ ।
ब्याज दरको निर्णयसँगै यस वर्ष थप आधा प्रतिशत बिन्दुको वृद्धि आवश्यक हुन सक्ने सुझाव दिएको फेडले जुन १४ मा अद्यावधिक आर्थिक पूर्वानुमान पनि प्रकाशित गरेको थियो । यस वर्षको औसत मुद्रास्फीतिको अपेक्षा ३ दशमलव २ प्रतिशतमा झरेको छ भने अस्थिर खाद्य र ऊर्जा मूल्यहरू समावेश नगर्ने आन्तरिक मुद्रास्फीतिको प्रक्षेपण वार्षिक ३ दशमलव ९ प्रतिशतको दरले वृद्धि भएको फेडले जनाएको छ ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend