जापान र ताइवानमा भएका उडानहरू सहित चीनको जासुसी बलून कार्यक्रमबारे नयाँ खुलासा भएको छ । बीबीसी पानोरामाले यसबारे नयाँ खुलासा गरेको हो । जापानले आफ्नो भूभागमा बलून उडेको पुष्टि गरेको छ र भविष्यमा त्यसलाई खसाल्न तयार रहेको बताएको छ । यसबारे चीनले अहिलेसम्म प्रत्यक्ष रूपमा प्रतिक्रिया जनाएको छैन ।
यस वर्षको सुरुवातमा अमेरिकी तटमा एक चिनियाँ ठानिएको जासुसी बलून खसालिएपछि अमेरिका र चीनबीचको सम्बन्धमा दरार उत्पन्न भएको थियो । जनजरीको अन्त्यमा उत्तर–पश्चिम अमेरिकामा देखापरेको बलून मौसम अवलोकनलगायत वैज्ञानिक अनुसन्धानका लागि प्रयोग भएको दाबी चीनले गरेको थियो।
त्यसलाई एक अनपेक्षित तथा रोचक घटना ठानिएको थियो । सीआईएका पूर्व पूर्वी एशिया विश्लेषक जोन कल्भरले पानोरामासँग त्यो ‘एक पटकको घटना नभई कम्तीमा पाँच वर्षदेखिको निरन्तर प्रयास’ भएको बताए। उनले चिनियाँ बलूनहरू विशेषगरी लामो दूरीका उद्देश्य पूरा गर्न बनाइएका र केहीले स्पष्ट रूपमा विश्वको परिक्रमा गरेको बताए ।
भूउपग्रहमार्फत कैद ठूलो मात्राको तथ्याङ्क अध्ययन गरेको कृत्रिम बुद्धिमत्ता अर्थात् एआई कम्पनी सिन्थेटिकसँगको सहकार्यमा बीबीसीले पूर्वी एशिया पार गरेका बलूनहरूको थुप्रै तस्बिरहरू प्राप्त गरेको छ । कम्पनीका संस्थापक कोरी जास्कोल्स्कीले सन् २०२१, सेप्टेम्बरको सुरुमा एउटा बलूनले उत्तरी जापान पार गरेको प्रमाण फेला पारेका थिए। यी तस्बिरहरू पहिले प्रकाशित भएका थिएनन् ।
प्राप्त प्रमाणले उक्त बलून मङ्गोलियाको दक्षिणी भागमा पर्ने चीनको भित्री क्षेत्रबाट प्रक्षेपण भएको सङ्केत गर्ने जास्कोल्स्कीको विश्वास छ । जापान अमेरिकाको निकट सहयोगी हो र त्यहाँ अन्य कुनै पनि देशको तुलनामा धेरै अमेरिकी सेना तैनाथ छन् ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend