कम्बोडियाले फेसबुकका प्रतिनिधिलाई देशबाट निष्कासन गर्ने निर्णय गरेको छ । दक्षिणपूर्वी एसियाली मुलुक कम्बोडियाका प्रधानमन्त्री सामदेक टेचो हुन सेनले फेसबुकका प्रतिनिधिलाई देशबाट निष्कासन गर्ने निर्णय गरेको बताएका हुन् ।
उनले सार्वजनिक रूपमा जारी गरेको सन्देशमा भनेका छन्, “अब फेसबुकलाई कम्बोडियामा आफ्नो प्रतिनिधि राख्न दिइने छैन तर देशमा फेसबुकको पहुँच रोक्ने मेरो कुनै मनसाय छैन ।”
हुन सेनले निर्वासित राजनीतिक विरोधीहरूले गरेको ‘अपमानजनक’ टिप्पणीप्रति फेसबुकले पक्षपात गरेको आरोप लगाएका छन् । हुलाक तथा दूरसञ्चार मन्त्रालय (एमपीटीसी) ले विज्ञप्ति जारी गर्दै फेसबुकका प्रतिनिधिलाई कम्बोडियाबाट निष्कासन गर्ने र कम्पनीको प्रतिनिधित्व, सरकारसँगको सम्बन्ध र निजी क्षेत्रमा साझेदारी सहयोगजस्ता सबै गतिविधि बन्द गर्ने निर्णय गरेको जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, “एमपीटीसीले कम्बोडियाका प्रयोगकर्ताहरूका लागि फेसबुकको सेवाहरूमा नक्कली खाताहरू सिर्जना गर्ने, निजी सुरक्षाको जोखिम, तथ्याङ्क प्रयोग र सङ्कलन, नक्कली समाचारको प्रसार, जवाफदेहिता र पारदर्शिताको कमी, र देशको राजनीतिक मामिलामा हस्तक्षेपजस्ता अनियमितताहरू फेला पारेको जनाएको छ ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend