काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको समृद्धिका लागि आन्तरिक तथा बाह्य ऋण लिनुपर्ने बताएका छन् । बिहीबारको राष्ट्रियसभाको दोस्रो बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त राष्ट्र ऋण उठाउने विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै महतले ऋण लिने प्रचलन संसारभर रहेकाले ऋण किन लिने भन्नेमा सरकार प्रष्ट रहेको बताए ।
“सरकार कस्तो ऋण लिने, किन ऋण लिने, के आधारमा ऋण लिने, कुन क्षेत्रमा ऋण प्रवाह गर्ने वा नगर्ने भन्नेमा गम्भीर छ”, उनले भने, “ऋण लिने प्रचलन संसारभरि नै छ । तर त्यो ऋण किन लिने, त्यसमा हामी सुस्पष्ट हुनुपर्छ । ऋण लिएर लागनी गर्ने, लगानीबाट प्रतिफल ज्यादा लिने, त्यसले अर्थतन्त्रलाई फराकिलो बनाउँछ ।”
कुनै पनि ऋण नलिइकन मुलुक समृद्ध बनाउन सम्भव नभएको उल्लेख गर्दै उनले आफ्नो पूँजीले मात्रै देशको पूँजी विस्तार गर्न नसकिने बताए । “देशको पूँजी लगानीले समग्रमा अर्थतन्त्रलाई माथि उकास्न सकिँदैन । तर ऋण लिँदा अत्यन्त सचेत हुनुपर्छ, कस्तो ठाउँमा ऋण लिने, प्रतिफल र परिणाम आउने, बढीभन्दा बढी जनतालाई सहयोग पुग्ने हो कि होइन, सामाजिक आर्थिक प्रतिफल कति आउँछ, त्यसको यथार्थ मूल्याङ्कनका आधारमा ऋण लिनुपर्छ ।”
उक्त प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद जितेन्द्रनारायण देव, देवेन्द्र दाहाल र भैरवसुन्दर श्रेष्ठले ऋणको सदुपयोग गर्ने तथा ऋण नलिएर आन्तरिक राजस्व वृद्धि गर्नेतर्फ सरकारले ध्यान दिनुपर्ने बताए ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend