logo

२०८३ साउन १३ बुधबार

साङ्गीतिक क्षेत्रमा उदाउँदै सञ्जीव

साङ्गीतिक क्षेत्रमा उदाउँदै सञ्जीव


हाम्रो राष्ट्र
  • बिहिबार, ४ साउन २०८०
  • 1.2K
    SHARES

    तनहुँ । विसं २०६६ चैत १५ गते तनहुँको खैरेनीटारमा आयोजित खैरेनीटार महोत्सवमा पश्चिमाञ्चल तारा घोषणा भएपछि सञ्जीवसिंह रानाको साङ्गीतिक क्षेत्रमा प्रवेश भयो । पहिल्यैदेखि गायनमा रुचि राखेका रानाले पश्चिमाञ्चल तारामा आफ्नो प्रतिभा प्रस्फूटन गर्ने अवसर पाएका थिए ।

    त्यतिबेला तत्कालीन अर्थमन्त्री डा बाबुराम भट्टराईको हातबाट पुरस्कार ग्रहण गर्दा उनलाई यही क्षेत्रमा अगाडि बढ्छु भन्ने दृढ सङ्कल्प जागिसकेको थियो । फलस्वरूप आजसम्म पनि उनी साङ्गीतिक क्षेत्रमा नै टिकिरहेका छन् ।

    रानाले २०६९ सालमा ‘भविष्य’ नामक एल्बम निकालेपछि उक्त एल्बमले थप चर्चा भयो । त्यसपछि नेपालका विभिन्न ठाउँमा हुने मेला महोत्सवका साथै विदेशमा पनि कार्यक्रमका लागि रानाको माग बढ्न थाल्यो ।

    राना भन्छन्, “गायन मेरो सानैदेखिको रुचि थियो, गायनबाटै आज देश तथा विदेश घुम्ने अवसर पाएँ । मेला महोत्सवमा पनि बोलाउनुहुन्छ, यसले मलाई सन्तुष्टि दिएको छ ।”

    रानाले आवाज दिएका थुप्रै गीतमध्ये दर्शकले रुचाएका गीत भने ‘धन मागे त छैन मन मागेमा दिउँला’, ‘ए मेरो मामा फुलबुट्टे जामा’, ‘वान टु वान टु म पनि जान्छु’, ‘मैले माया लाएको तिमीसँगै हो’, ‘तिम्ले जस्तै ढाँट्न जाने’, ‘तिम्रो प्रोफाइल’, ‘हिँड्दा हिँड्दै दोबाटोमा’, ‘निलो आकाशमा’ हुन् ।

    रानाले सगरमाथा अवाह जयाप्राप्ति अवार्ड, क्वालिटी इन्टरटेन्टमेन्ट अवार्ड, नाट्येश्वर अवार्ड प्राप्त गरेका छन् । उजले हङकङ, कतार मलेसिया, भारत लगायतका ठाउँमा पुगेर पनि कार्यक्रम गरिसकेका छन् ।

    विसं २०४१ साउन २९ गते तनहुँको ऋषिङ गाउँपालिका–३ मा जन्मिएका गायक रानाको परिवारमा आमा र बुबाले पनि गीत सङ्गीत मन पराउँछन् ।

    राष्ट्रिय लोकदोहरी प्रतिष्ठान नेपाल तनहुँका सदस्य, राष्ट्रिय सङ्गीतकर्मी सङ्घ काठमाडौँका सहसचिव रहेमन रानाले साङ्गीतिक कार्यक्रममार्फत प्राप्त गरेको पारिश्रमिक समाजसेवामा खर्च गर्दै आएको बताए । उनले भने, “समाजसेवामा पनि रुचि भएकाले मैले अपाङ्गता विद्यार्थी, वृद्धाश्रम, विभिन्न क्लबलाई सहयोग गरिरहेको छु ।”

    रानाले आफ्नै सङ्गीत र शब्द चयन गरेर गीत गाउने गरेको बताए । उनले भने, “मलाई गीत सङ्गीतमा प्रेरित गराउनुहुने मेरो आमा हो, त्यसपश्चात् स्वर सम्राट नारायण गोपाल र पाकिस्तानी गायक गुलाम अलीको गीत सुनेर म यसमा प्रेरित भएको हुँ ।”

    रानाले यो क्षेत्रमा स्थापित हुनका लागि धेरै सङ्घर्ष गर्नुपरेको अनुभव सुनाए । उनले भने, “बिना सङ्घर्ष त स्थापित हुन सकिँदैन । सुरुआती चरणका कमजोरीलाई सच्याउँदै अगाडि बढिरहेको छु ।” जति बाधा र अप्ठ्यारा आइपरे पनि यही क्षेत्रमा निरन्तर रहिरहने उनको भनाइ छ ।

    आम दर्शक र श्रोताको मायाका कारण आफू यो स्थानसम्म आइपुगेको भन्दै रानाले भने, “धन सम्पत्तिभन्दा दर्शकको माया ठूलो हो, दर्शकको विश्वासलाई गुम्न दिनेछैन ।”

    रानाले नयाँ गीत सार्वजनिक गर्ने तयारीमा रहेको बताए । अहिलेको बजारको मागअनुसारको गीत सार्वजनिक गर्ने तयारी गरेको भन्दै उनले भने, “पृथक ढङ्गका गीत बजारमा ल्याउने प्रयासमा छु ।”

    अहिलेको युग भनेको सूचना प्रविधिको भएकाले युट्युब, फेसबुकको माध्यमबाट गीत प्रचारप्रसार गरिरहेको उनको भनाइ छ । उनले भने, “पहिला पहिला युट्युबको प्रचलन नआउँदा क्यासेट, सिडी, एफएम रेडियोबाट लोकप्रियताको मापन गरिन्थ्यो तर अहिले युट्युबले सजिलो बनाएको छ ।”

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend