logo

२०८३ साउन १३ बुधबार

ट्युनिसियामा ६ महिनामा आठ सय आप्रवासीको डुबेर मृत्यु

ट्युनिसियामा ६ महिनामा आठ सय आप्रवासीको डुबेर मृत्यु


हाम्रो राष्ट्र
  • बिहिबार, ११ साउन २०८०
  • 1.3K
    SHARES

    ट्युनिसियामा डुङ्गाबाट युरोप पुग्ने क्रममा यस वर्षको पहिलो छ महिनामा करिब ८०० आप्रवासीको डुबेर मृत्यु भएको नेसनल गार्डका प्रवक्ता होउसेम एड्डाइन जेबाब्लीले बताएका छन् ।

    उनले भने, “१०२ ट्युनिसियाली, अन्य विदेशी र अज्ञात व्यक्तिसहित ७८९ आप्रवासीको शव समुद्रबाट निकालिएको छ । यो अवधिमा ३४ हजारभन्दा बढीको उद्धार गरिएको छ ।”

    उत्तर अफ्रिकी देश (ट्युनिसिया) युरोपमा राम्रो जीवनको आशामा जोखिमपूर्ण समुद्री यात्राको प्रयास गरिरहेका अनियमित आप्रवासी र शरण खोज्नेहरूका लागि एक प्रमुख प्रवेशद्वार बनेको छ । ट्युनिसिया इटालियन टापु लाम्पेडुसाबाट लगभग १३० किलोमिटर को दूरीमा अवस्थित छ ।

    जेबाब्लीले भने, “जनवरी १ देखि जुन २० को बीचमा कूल ३४ हजार २९० आप्रवासीलाई रोकेर उद्धार गरिएको छ । यो सङ्ख्या गत वर्षको सोही अवधिको नौ हजार २१७ को तुलनामा निकै बढी हो ।”

    यस वर्ष उद्धार गरिएकामध्ये ३० हजारभन्दा बढी विदेशी नागरिक रहेको र तीमध्ये अधिकांश सब–सहारा अफ्रिकाका रहेको उनले बताए ।

    सामुद्रिक सुरक्षा एकाइहरूले पहिलो छ महिनामा एक हजार ३१० उद्धार प्रयासहरू सञ्चालन गरेको र उक्त सङ्ख्या अघिलो बर्षको सोही अवधिको सङ्ख्याभन्दा दोब्बर भन्दा बढी हो ।

    इटालियन सरकारका अनुसार यस वर्ष अहिलेसम्म ८० हजारभन्दा बढी मानिसहरू भूमध्यसागर पार गरेर यसको किनारमा आइपुगेका छन्, जसमध्ये अधिकांश ट्युनिसिया र युद्धग्रस्त लिबियाबाट आएका हुन् ।

    अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनका अनुसार सन् २०१४ यता मध्य भूमध्यसागरीय क्षेत्र विश्वको सबैभन्दा खतरनाक आप्रवासी मार्ग बनेको छ र यसले २० हजारभन्दा बढीको ज्यान लिइसकेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend