काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले सरकारी अस्पतालमा लागू गरिएको सुधार कार्यक्रमले निजी क्षेत्रका अस्पतालमा रहेको बिरामीको चाप केही हदसम्म घटेको बताएका छन्।
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको मस्तिष्क मृत्यु अंग प्रत्यारोपणसम्बन्धी प्रस्तुती ‘पुनर्जन्म’ वृत्तचित्र सार्वजनिक कार्यक्रममा उनले वीरलगायतका सरकारी अस्पतालमा बिहान ८ बजेदेखि सुरू भएको बहिरंग सेवा निकै प्रभावकारी सावित भएको उल्लेख गरे।
‘सीमित स्रोत साधनका बावजुद संविधानले आमनागरिकका लागि सुनिश्चित गरेको निःशुल्क उपचार सेवा दिलाउन सरकार प्रतिबद्ध छ, कुनै पनि गरिब एवं विपन्न नागरिकले पैसाको अभावमा अकालमा ज्यान गुमाउन नपरोस् भन्ने पाटोमा हामी सजग छौं,’ उनले भने।
सरकारको पछिल्ला कदमले स्वास्थ्यमा अनुशासन र सुधारका कार्यक्रम प्रभावकारी देखिएको बताउँदै उनले अनुशासन र क्रियाशील जीवनले मानिसलाई निरोगी हुन मद्दत पुर्याउने धारणा राखे।
‘उपचारका नाममा ठूलो रकम विदेश नजाओस् भन्ने हेतुले विशिष्ट व्यक्तिको उपचारका लागि वीर अस्पतालमा उपचार कक्ष र शय्या बढाउन निर्देशन भइसकेको छ, मानव अंग प्रत्यारोपण केन्द्रको विकास र विस्तारलाई पनि प्राथमिकता दिइनेछ,’ उनले भने।
मन्त्रालयका सचिव देवकुमारी गुरागाईंले भक्तपुर अंग प्रत्यारोपण केन्द्रका लागि सरकारले जग्गा प्राप्ति, पूर्वाधार निर्माण र आवश्यक बजेट व्यवस्थापनका लागि विभिन्न प्रयास तथा प्रयन्न गरिरहेको बताए।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend