काठमाडौं । अदालतले सुन तस्करी प्रकरणमा पक्राउ परेका १८ जनालाई थप १५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । उच्च अदालत पाटनले उनीहरूलाई थप १५ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
रेडी ट्रेडले हङकङबाट ल्याएको ब्रेक शुमा एक क्वीन्टल भित्राएको थियो । उक्त सुन भन्सार जाँच पास भएर छुटेपछि राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो। त्यसयता विभागले १८ जनालाई पक्राउ गरेको हो ।
आइतबारमात्रै विभागको टोलीले ठमेलस्थित होटल भियनाका सञ्चालक दावा छिरिङलाई पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा कार्यरत भन्सार अधिकृत सन्तोष चन्द, खरिदार एवं जाँचकी कुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठलाई पनि विभागले पक्राउ गरेको छ ।
त्यस्तै भन्सार एजेन्टहरू यादवशंकर पराजुली, सुदर्शन गौतम, रूकमिना सुब्बा, ग्लोबल प्रालिका सञ्चालक पुष्करराज भट्ट, कृष्ण श्रेष्ठ, राजन श्रेष्ठ, ट्याक्सी चालक अशोक लामा, भन्सार एजेन्ट राजेन्द्र राई, रेडी ट्रेड प्रालिका सञ्चालक दिलीप भुजेल, उनका मामा रामकुमार भुजेल, हर्कराज राई, भारतीय नागरिक थाप्तेन छिरिङ, र चिनियाँ नागरिक लिन जेछियाङ छन् ।
उनीहरूमाथि विभागले राजश्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन, २०५२ अनुसार अनुसन्धान गरिरहेको छ । राजश्व अनुसन्धान विभागले साउन २ गते सुन बरामद गरेको थियो ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend