पोप फ्रान्सिसले युक्रेनी खाद्यान्नलाई ‘ब्ल्याक सी’ हुँदै विश्व बजारसम्म सुरक्षित रूपमा लैजान अनुमति दिने सम्झौतामा फर्कन रूसलाई आग्रह गरेका छन् ।
गतवर्ष युक्रेनको खाद्यान्न सम्झौतामा सहमति भएको थियो र लगभग ३३ मिलियन टन अनाजलाई युक्रेनी बन्दरगाह छोड्न अनुमति दिइएको थियो । यसले विश्वव्यापी खाद्य मूल्यस्थिर गर्न र अभाव रोक्न मद्दत पुर्याएको थियो ।
फ्रान्सिसले आफ्नो साप्ताहिक एन्जेलस प्रार्थनाका क्रममा भने, “म मेरा भाइहरू, रूसी सङ्घका अधिकारीहरूलाई ‘ब्ल्याक सी’ खाद्यान्न सम्झौतालाई पुनः स्थापित गर्न आह्वान गर्दछु ताकि गहुँलगायत युक्रेनी खाद्यान्न सुरक्षित रूपमा ढुवानी गर्न सकियोस् ।”
“हामी निरन्तर द्वन्द्व प्रभावित युक्रेनको लागि प्रार्थना गरिरहेका छौं, जहाँ युद्धले गहुँलगायत सबै चीजहरू नष्ट गरिरहेको छ । यो भगवानको नजरमा एक प्रमुख अपराध हो किनकि गहुँ मानवतालाई खुवाउनको लागि उहाँको उपहार हो र भोकले पीडित हाम्रा लाखौं भाइबहिनीहरूको चित्कार गुञ्जिरहेको छ,” उनले भने ।
रूसले दुई साताअघि संयुक्त राष्ट्रसङ्घ र टर्कीको मध्यस्थतामा भएको सम्झौतालाई विस्तार गर्न अस्वीकार गरेको थियो, यसअन्तर्गत युक्रेनी खाद्यान्न निर्यात ‘ब्ल्याक सी’ हुँदै अफ्रिकालगायत विश्व बजारमा पुगेको थियो ।
मस्कोले रूसी मल निर्यातका लागि अनुमति दिने सम्झौताका केही भागहरूको सम्मान नगरिएको भन्दै महिनौंको विरोधपछि सम्झौताबाट पछि हटेको थियो ।
रूसले सम्झौता फिर्ता लिएपछि विश्व बजारमा गहुँको मूल्य बढेको छ ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend