भारतको हरियाणा राज्यस्थित मेवातमा सोमवार साम्प्रदायिक हिंसा फैलिएपछि राति देशको राजधानी दिल्लीनजिकै रहेको गुरुग्राममा दर्जनौँ मस्जिदमा आगजनी भएको बताइएको छ ।
मस्जिद प्रबन्धन समितिका एक वरिष्ठ अधिकारीका अनुसार गुरुग्राममा भएको घटनामा मस्जिदका एक इमामको मृत्यु भएको र अरू मानिसहरू घाइते भएका छन् । मेवातमा सोमबार एउटा धार्मिक यात्राका क्रममा दुई समूहबीच हिंसा भएको थियो । त्यहाँ पनि ठाउँठाउँमा आगजनीका घटनाहरू भएका थिए भने कम्तीमा १२ जना घाइते भएको बताइएको छ ।
साम्प्रदायिक हिंसा फैलिएपछि त्यहाँ ठूलो सङ्ख्यामा सुरक्षाकर्मीहरू खटाइएको छ। सरकारले बुधबारसम्म इन्टरनेट बन्द गरिदिएको छ। हरियाणा अञ्जुमन ट्रस्टका अध्यक्ष मोहम्मद असलम खानका अनुसार सोमवार साँझ प्रहरी आफूहरू कहाँ आएर मस्जिदको सुरक्षाको जिम्मेवारी लिएका थिए ।
सन् २००४ मा हरियाणा सरकारले गुरुग्राममा १७ वटा मन्दिर, दुई वटा गुरुद्वार, एक गिर्जाघर र एक मस्जिद निर्माणका लागि जग्गा बाँडफाँट गरेको थियो। आगो लगाइएको मस्जिद सोही जग्गामा निर्माण भएको गुरुग्रामको एक मात्र मस्जिद हो। त्यहाँ वरपर बस्ने मुसलमानहरू नमाज पढ्न आउँछन्।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend