logo

२०८३ साउन १५ शुक्रबार

माथिल्लो मैलुङ जलविद्युतको सेयर बाँडफाँट पुनरावलोकन गर्न माग

माथिल्लो मैलुङ जलविद्युतको सेयर बाँडफाँट पुनरावलोकन गर्न माग


हाम्रो राष्ट्र
  • मंगलबार, २३ साउन २०८०
  • 1K
    SHARES

    रसुवा । दक्षिणी रसुवाको उत्तरगया गाउँपालिकामा निर्माणाधीन माथिल्लो मैलुङ जलविद्युत् आयोजनाले रसुवावासीलाई छुट्याएको सेयर सङ्ख्या (कित्ता) बाँडफाँटमा पुनरावलोकन गर्न माग गरिएको छ ।

    जिल्ला समन्वय समिति रसुवाले जिल्लावासीलाई छुट्याएको सेयर सङ्ख्या नियमसङ्गत नभएको जनाउँदै पुनरावलोकन गर्न सो आयोजनालाई आग्रह गरेको हो । कुल सेयर सङ्ख्याको १० प्रतिशत रसुवावासीलाई उपलब्ध गराउनुपर्ने कानुनी प्रावधानलाई आयोजनाले बेवास्ता गर्दै निष्कासन गर्न लागिएको सेयर अत्यन्तै न्यून सङ्ख्यामा निर्धारण भएको समन्वय समितिले जनाएको छ ।

    जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार घिमिरेका अनुसार १४ दशमलव तीन मेगावाट क्षमताको माथिल्लो मैलुङ जलविद्युत् आयोजनाले सेयर बाँडफाँटका विषयमा जिल्लास्तरमा छलफल गरेको छैन ।

    उनले सेयर बाँडफाँटको पुनरावलोकन गराउन जिल्लाको सर्वदलीय बैठकमार्फत आयोजनालाई अनुरोध गरिएको बताए । जिल्लाको उत्तरगया गाउँपालिकाको करूम्राङबाट उत्तर पाखामा सो आयोजनाले आफ्नो कार्यक्षेत्र बनाएको छ ।

    आयोजनाले आफ्नो कार्यक्षेत्र बाहिर गएर नुवाकोटको किस्पाङ गाउँपालिकाको साविक मनकामना गाविसलाई कुन आधारमा प्रभावित क्षेत्र बनायो भन्ने विषयमा समेत सो बैठकको सहभागी सदस्यले प्रश्न उठाएका थिए ।

    रसुवावासीका लागि भने आयोजनाले एक लाख ४२ हजार आठ सय ५० कित्ता सेयर तोकेको बताइएको छ । आयोजनाले रसुवा र नुवाकोटको भू–भागका प्रभावित र अतिप्रभावितलाई भने आठ लाख ५७ हजार एक सय ५० कित्ता निष्कासन सूचीमा देखाएको भए पनि कुन जिल्लालाई कति हो भन्ने प्रस्ट नभएको बताइएको छ ।

    रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाले सेयर निष्कासन गर्नुपूर्व जिल्लास्तरमा सर्वपक्षीयको भेलाको आयोजना गरेका थिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend