logo

२०८३ साउन १३ बुधबार

स्थानीयको माग सम्बोधन गरी बुढीगण्डकीको  शिलान्याश छिट्टै : प्रधानमन्त्री

स्थानीयको माग सम्बोधन गरी बुढीगण्डकीको  शिलान्याश छिट्टै : प्रधानमन्त्री


हाम्रो राष्ट्र
  • सोमबार, २९ साउन २०८०
  • 1.1K
    SHARES

     

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीयबासीको माग सम्बोधन गरी बुढीगण्डकी जलविद्युत् आयोजनाको शिलान्याश छिट्टै गरिने बताएका छन् ।

    गोरखाको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिना नेतृत्वको प्रतिनिधिमण्डलसँग सोमबार  प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गर्दै प्रधानमन्त्रीले बुढीगण्डकी जलविद्युत् आयोजना राष्ट्रिय गौरवको परियोजना भएकाले शीघ्र अघि बढाउने बताए ।

    यही साउन ३ गते सो आयोजनाको फिल्ड कार्यालय उद्घटन भइसकेको छ । प्रधानमन्त्रीले आयोजना प्रभावित स्थानीयबासीले मुआब्जालगायतका विषयमा उठाएका माग सम्बोधन गर्ने र उनीहरुलाई समेत विश्वाासमा लिएर अगाडि बढाउने विश्वास दिलाएको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिनाले जानकारी दिए ।

    यस्तै, गोरखाको धौवादीघाटको पुल निर्माणलाई पनि छिट्टै अगाडि बढाइने प्रधानमन्त्रीको भनाइ थियो । त्रिशुली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त भएको झोलुङ्गे पुलको पुनःनिर्माण समेत तत्काल शुरु गर्ने प्रधानमन्त्रीको भनाइ थियो ।

    गोरखाको गण्डकी गाउँपालिका र धादिङको बेनीघाट रोराङ गाउँपालिका जोड्ने हिक्लुङघाटको झोलुङ्गे पुल त्रिशुलीको बाढीले क्षति पुर्याएको छ । सो अवसरमा अन्य विकास निर्माणलगायतका विषयमा समेत प्रधानमन्त्रीसँग महत्वपूर्ण छलफल भएको अध्यक्ष तिमिल्सिनाले जानकारी दिए ।

    यस्तै सुदूरपश्चिम अत्यधिक बर्षाका कारण आएको बाढी र पहिरोले पुर्याएको क्षति तथा भीमदत्त राजमार्गमा भएको अवरोध खुलाउने विषयमा सुदूरपश्चिम प्रदेशका नेकपा(माओवादी केन्द्र)का नेताहरुले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका  छन् । वैकल्पिक मार्गका रुपमा रहेको दैजी जोगबुढी सडक सञ्चालन गर्ने विषयमा समेत सो अवसरमा छलफल भएको थियो ।

    छलफलकै क्रममा प्रधानमन्त्री प्रचण्डले भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्रालयका सचिव केशवकुमार शर्मालाई टेलिफोन गरी भिमदत्त राजमार्ग नियमित सञ्चालन हुने वातावरण बनाउन र दैजी जोगबुढा सडक सञ्चालनका लागि आवश्यक प्रबन्ध गर्न निर्देशन दिनुभएको सुदूरपश्चिम प्रदेशसभाका सदस्य ओमविक्रम भाटले जानकारी दिए ।
    प्रधानमन्त्री प्रचण्डले बाढी प्रभावित क्षेत्रमा शीघ्र राहत तथा उद्धारको प्रबन्ध गर्न समेत निर्देशन दिएका थिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend