logo

२०८३ साउन १४ बिहिबार

३० दिनको तालिमपछि आमा समूहले थाल्यो ‘फेन्सी चप्पल’को उत्पादन

३० दिनको तालिमपछि आमा समूहले थाल्यो ‘फेन्सी चप्पल’को उत्पादन


हाम्रो राष्ट्र
  • मंगलबार, ३० साउन २०८०
  • 1K
    SHARES

    म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा रहेको गलेश्वरधाम आमा समूहमा आबद्ध महिलाले ‘फेन्सी चप्पल’को व्यावसायिक उत्पादन सुरुआत गरेका छन्। बेनी नगरपालिकाको ‘आमा समूहसँग उपमेयर’ कार्यक्रमअन्तर्गत १५ दिने तालिम लिएका महिलाले चप्पल उत्पादन गर्न थालेका हुन्।

    पहिलो चरणमा नगरपालिकाबाट आधारभूत तालिम लिएका महिलालाई पुनः आमा समूहकै पहलमा थप १५ दिने विशेष तालिम दिएपछि महिलाले व्यावसायिक चप्पल उत्पादन सुरु गरेको समूहका उपाध्यक्ष विन्दु कार्की पुर्जाले जानकारी दिइन्। उनका अनुसार आमा समूहकै भवनमा महिलाले चप्पल उत्पादन गर्न थालेका छन्।

    बजारमा बाहिरबाट आयात गरेका चप्पलको खरिद बिक्री हुने गरेकामा आमा समूहले नै व्यावसायिक रूपमा चप्पल उत्पादन सुरु गरेपछि स्थानीय बजारमा स्थानीय उत्पादनकै सामग्रीको उपलब्धता गराउने योजना रहेको समूहका सचिव निसा जिसीले जानकारी दिइन्। फेन्सी चप्पलको माग बढी हुने भएकाले व्यावसायिक रूपमा उत्पादन सुरु गरिएको चप्पल बनाउने व्यवसायबाट महिलाको आयआर्जनमा समेत टेवा पुग्ने लक्ष्य राखिएको उनले बताइन्।

    महिलाले फेन्सी चप्पल सामूहिक रूपमा बनाउन सुरु गरेको उद्योगको सोमबार प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले शुभारम्भ गरेका छन्। कार्यक्रममा प्रजिअ पौडेल, बेनी नगरपालिकाका प्रमुख सुरत केसी र वडाध्यक्ष चक्रबहादुर केसीले स्थानीय बजारमा स्थानीय उत्पादनकै सामग्रीको उपलब्धता गराउन सकेमा यसले महिलाको उद्यमशीलताको प्रवर्द्धन गर्नेमा जोड दिए।

    सो अवसरमा गलेश्वर मन्दिर परिसरमा शनिबार राखिएको घुम्ती प्रदर्शनी कक्षबाट ५९ जोर चप्पल बिक्रीसमेत भएको समूहले जनाएको छ। सो समूहले उत्पादन गरेका चप्पलको गलेश्वरमा बिक्रीकक्षसमेत सञ्चालन गर्ने योजना बनाएको समूहकी अध्यक्ष फूलकुमारी रोकाले जानकारी दिइन्।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend