logo

२०८३ साउन १४ बिहिबार

खोटाङ प्रतिभा गायनमा आश्विन र नृत्यमा कविता छनोट

खोटाङ प्रतिभा गायनमा आश्विन र नृत्यमा कविता छनोट


हाम्रो राष्ट्र
  • मंगलबार, ३० साउन २०८०
  • 1.2K
    SHARES

    खोटाङ । खोटाङ प्रतिभा–२०८० को ‘फाइनल अडिसन’मा गायनतर्फ आश्विन राई र नृत्यतर्फ कविता श्रेष्ठ छनोट भएका छन् । खोटाङ कलाकार समाज र खोटाङ सेवा समाज बेलायत (युके)ले संयुक्तरूपमा सोमबार काठमाडौँमा आयोजना गरेको फाइनल अडिसनमा नौ–नौजना प्रतिस्पर्धीलाई पछाडि पार्दै गायनतर्फ हलेसी तुवाचुङ नगरपालिकाका आश्विन र नृत्यतर्फ खोटेहाङ गाउँपालिकाकी कविता ‘खोटाङ प्रतिभा–२०८०’ छनोट भएका हुन् ।

    प्रतिभा खोजी गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा गायनतर्फ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रदीप राई दोस्रो र बराहपोखरी गाउँपालिकाका लक्ष्मण परियार तेस्रो भएका छन् । यस्तै नृत्यतर्फ बराहपोखरी गाउँपालिकाका सुवास विश्वकर्मा दोस्रो र दिप्रुङ चुइचुम्मा गाउँपालिकाकी मनिता राई तेस्रो भएको आयोजकले जनाएको छ ।

    प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने प्रतिभालाई क्रमशः नगद दुई लाख दुई हजार, एक लाख एक हजार र ५१ हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजक खोटाङ कलाकार समाजका अध्यक्ष एवं गायक तथा सङ्गीतकार रुपकुमार राईले जानकारी दिए ।

    ‘खोटाङ प्रतिभा–२०८०’ छनोट प्रतियोगिताका विजयी छ जना प्रतिभालाई नगद पुरस्कारसहित गीत रेकर्डिङ तथा म्युजिक भिडियो खेल्ने अवसर दिनुका साथै बेलायतमा हुने विभिन्न कार्यक्रममा समेत सहभागी गराइनेछ”, उनले भने, “प्रतियोगितामा सहभागी बाँकी १४ प्रतिभालाई प्रोत्साहनस्वरुप सहभागिताको प्रमाणपत्रका साथै यातायात खर्चको व्यवस्था गरिएको छ ।”

    खोटाङ प्रतिभा–२०८० छनोट प्रतियोगिताका लागि जिल्लाका दशवटै स्थानीय तहबाट गायन तथा नृत्य विधामा एक–एकजना गरी २० जना प्रतिभाले सहभागिता जनाएका थिए ।

    जिल्लाकोे प्रत्येक पालिकाबाट गायन तथा नृत्य विधामा तीन–तीनजना प्रतिभा छनोट गरिएको थियो । पालिकास्तरीय प्रतियोगिताबाट दुई विधामा ३०/३० प्रतिभा छनोट गरिए पनि काठमाडौँमा आयोजना गरिएको फाइनल प्रतिस्पर्धामा दुवै विधामा प्रथम भएका एक÷एकजना प्रतिभालाई मात्र सहभागी गराइएको आयोजक खोटाङ कलाकार समाजका महासचिव पार्वन राईले जानकारी दिए।

    खोटाङ घर भइ काठमाडौँलाई कार्यक्षेत्र बनाएर गीत–सङ्गीतलाई आफ्नो पेसाका रूपमा अँगालेका खोटाङ्गे कलाकारले विसं २०७७ मा ‘खोटाङ कलाकार समाज’ गठन गरेको थियो । कला र साहित्यमा रुचि राखेर त्यसैमा आफ्नो भविष्य खोज्दै निरन्तर सङ्घर्ष गरिरहेका खोटाङ्गे कलाकारको साझा मञ्चका रूपमा खोटाङ कलाकार समाज स्थापना गरिएको कलाकारले बताएका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend