logo

२०८३ साउन १४ बिहिबार

युक्रेनी ड्रोन आक्रमणबाट रुसी सुपरसोनिक बमवर्षक विमान ध्वस्त

युक्रेनी ड्रोन आक्रमणबाट रुसी सुपरसोनिक बमवर्षक विमान ध्वस्त


हाम्रो राष्ट्र
  • मंगलबार, ५ भाद्र २०८०
  • 1.2K
    SHARES

    युक्रेनी ड्रोन आक्रमणमा परी रुसको लामो दूरीको बमवर्षक विमान ध्वस्त भएको छ । सामाजिक सञ्जालमा राखिएको तस्बिरहरूमा सेन्ट पिटर्सबर्गको दक्षिणमा रहेको सोल्टसी–२ हवाई अखाडामा रहेको टुपोलेभ टीयू–२२ विमानमा आगो लागेको देखिएको छ ।

    मस्कोले आफूले एउटा ड्रोनमा साना हतियारले प्रहार गरेको भए पनि उक्त ड्रोनले विमानलाई क्षति पुर्याउन सफल भएको बताएको छ। यसबारे युक्रेनले कुनै प्रतिक्रिया जनाएको छैन ।

    पछि रुसी हवाई प्रतिरक्षाले मस्को क्षेत्रमा दुई वटा ड्रोन खसालेको मेयर सर्गेई सोब्यानिनले जानकारी दिए । रक्षा अधिकारीहरूका अनुसार युक्रेनी सीमाको उत्तर–पूर्वमा रहेको ब्रायन्स्क क्षेत्रमा अन्य दुई वटा ड्रोनलाई रोकिएको थियो । घटनाक्रमका बीच मस्कोका तीन ठूला विमानस्थलमा उडानहरू स्थगित गरिएका थिए ।

    ध्वस्त पारिएको रुसी टीयू–२२ बमवर्षक ध्वनिको गतिभन्दा दुई गुना बढी गतिमा उडान गर्न सक्थ्यो। रुसले उक्त विमान युक्रेनका सहरहरूमा आक्रमण गर्न व्यापक रूपमा प्रयोग गर्दै आएको छ । मस्कोको रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मस्कोको समयअनुसार शनिबार बिहान १० बजे ‘कोप्टर टाइप यूएभी’ले आक्रमण गरेको हो । विज्ञप्तिमा घटना भएको स्थान सोल्टसी–२ अवस्थित “नोभगोरोड क्षेत्रको सैन्य हवाई अखाडा’ भएको जनाइएको छ ।

    किएभले हालैका महिनाहरूमा सयौँ किलोमिटर टाढा रहेको मस्कोमा आक्रमण गर्न दर्जनौँ फिक्स्ड–विङ्ग प्रकृतिका उच्च स्थानमा उड्ने मानवरहित विमानहरू प्रक्षेपण गरेको छ। सोल्ट्सी–२ युक्रेनको सीमाबाट करिब ६५० किलोमिटर टाढा छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend