logo

२०८३ साउन १५ शुक्रबार

घट्यो वैदेशिक व्यापार

घट्यो वैदेशिक व्यापार


हाम्रो राष्ट्र
  • बुधबार, ६ भाद्र २०८०
  • 962
    SHARES

    काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो महिनामा मुलुकको वैदेशिक व्यापार दुई दशमलव २८ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको पहिलो महिनामा एक खर्ब ४६ अर्ब नौ करोड ५७ लाख ६६ हजार रहेको वैदेशिक व्यापार यस वर्षको साउनमा एक खर्ब ४२ अर्ब ७६ करोड ७६ लाख २७ हजार कायम भएको छ ।

    भन्सार विभागले सार्वजनिक गरेको चालु आवको पहिलो महिनाको तथ्याङ्कअनुसार गत वर्षको साउनको तुलनामा चालु आवको सोही अवधिमा आयात एक दशमलव ५६ प्रतिशतले घटेर एक खर्ब २९ अर्ब २३ करोड ८९ लाख ७१ हजार पुगेको छ ।

    गत आवको पहिलो महिनामा एक खर्ब ३१ अर्ब २८ करोड ६० लाख ६६ हजारको आयात भएको थियो । तथ्याङ्कानुसार साउनमा वैदेशिक व्यापारमा आयातको अनुपात ९० दशमलव ५२ प्रतिशत रहेको छ । त्यस्तै सार्वजनिक विवरणअनुसार गत आवको पहिलो महिनाको तुलनामा यस आवको सोही अवधिमा निर्यात आठ दशमलव ६५ प्रतिशतले घटेको छ ।

    गत आवको सुरुको महिनामा १४ अर्ब ८० करोड ९७ लाखको निर्यात भएकोमा चालु आवको समीक्षा अवधिमा १३ अर्ब ५२ करोड ८६ लाख ५६ हजारको निर्यात भएको छ । विभागका अनुसार यो अवधिमा कूल वैदेशिक व्यापारमा निर्यातको अनुपात नौ दशमलव ४८ प्रतिशत रहेको छ ।

    एक खर्ब १५ अर्बको व्यापार घाटा

    विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो महिनामा मुलुकको व्यापार घाटा शून्य दशमलव ६६ प्रतिशतले घटेर एक खर्ब १५ अर्ब ७१ करोड तीन लाख १५ हजार कायम भएको छ । गत आवको पहिलो महिनामा व्यापार घाटा एक खर्ब १६ अर्ब ४७ करोड ६३ लाख ६५ हजार थियो ।

    आयातमा सबैभन्दा बढी डिजेल

    मुलुकको वैदेशिक व्यापारमा मूख्यरूपमा प्रभाव पार्ने पेट्रोलियम पदार्थ नै यस अवधिमा समेत प्रमुख आयात हुने वस्तुमा परेको छ । विभागको तथ्याङ्कानुसार एक महिनामा सात अर्ब ३४ करोड ७१ लाख २५ हजार बराबरको डिजेल आयात भएको छ । यो आयातमध्यकै बढी हो । त्यस्तै यस अवधिमा पाँच अर्ब ४४ करोड ७० लाख ७६ हजारको पेट्रोल आयात भएको तथ्याङ्कमा उल्लेख छ ।

    निर्यातमा सबैभन्दा बढी अलैँची

    नेपालबाट निर्यात भएको वस्तुमध्ये गत एक पहिनामा अलैँची सबैभन्दा धेरै देखिएको छ । विभागका अनुसार नेपालबाट ९६ करोड ४६ लाख छ हजारको अलैँची निर्यात भएको छ । त्यस्तै चालु आवको पहिलो महिनामा ९५ करोड ६६ लाख ३९ हजार बराबरको उनीको गलैँचा तथा कार्पेट निर्यात भएको विभागको तथ्याङ्क छ ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend