विराटनगर । कोशी प्रदेश सरकारले प्रदेश सभाको अधिवेशन अन्त्य गरेको छ । अध्यादेशमार्फत नै अर्को बजेट ल्याउने तयारी स्वरुप सरकारले प्रदेश सभा अधिवेशन अन्त्य गरेको हो ।
प्रदेश प्रमुख पर्शुराम खापुङले बुधबार राति १२ बजेदेखि लागु हुने गरी प्रदेश सभा अधिवेशन अन्त्य गरेका छन्। प्रदेश सरकार मन्त्रीपरिषदको सिफारिशमा अधिवेशन अन्त्य गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । कोशी प्रदेश यतिबेला एमाले नेतृत्वको तत्कालीन सरकारले अध्यादेशमार्फत् ल्याएको बजेटबाट चलिरहेको छ।
भदौ १० भित्रमा जस्ताको तस्तै पारित गर्नुपर्ने वा प्रतिस्थापन गर्नुपर्ने संवैधानिक बाध्यता थियो। मुख्यमन्त्री उद्धव थापासहित गठबन्धनका नेताहरुले प्रतिस्थापन विधेयकमार्फत अर्को बजेट ल्याउने बताइरहेका थिए।
तर, मुख्य विपक्षी एमाले र राप्रपाले संसद बैठक बहिष्कार गरेको दिन नै सरकारले अधिवेशन अन्त्य गरेर अर्को अध्यादेश ल्याउने तयारी गरेको हो । सोमबार मुख्यमन्त्री थापाले विश्वासको मत लिने बेलामा बैठकको अध्यक्षता गरेका सांसद इस्राइल मन्सुरीले पनि मतदान गरेको विरोधमा बुधबार एमाले र राप्रपाले प्रदेश सभा बैठक बहिष्कार गरेका थिए।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend