सुर्खेत । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले राम्रो उद्देश्यका निम्ति आफूहरुले सरकार बनाएकाले कसैले चाहँदैमा सरकार परिवर्तन नहुने बताएका छन् ।
बिहीबार सुर्खेतको वीरेन्द्रनरमा समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कुनै पनि शक्तिले सरकार ढाल्न नसक्ने बताएका हुन् । उनले प्रधानमन्त्रीले आफ्नालाई समेत नछाडी अहिले भ्रष्टाचारविरुद्ध अभियान चलाइरहेको भन्दै धन्यवाद पनि दिए ।
उनले भने, ‘यो सरकारलाई देशी, विदेशी कुनै शक्तिले हल्लाउन सक्दैन । यो सरकार कहिले ढल्ने हो भन्ने चिन्ता छ भने त्यसबाट मुक्त हुनुस् । कसैलाई ढलोस् भन्ने लागेको छ भने असिन–पसिन हुन दिनुस् ।’
अध्यक्ष नेपालले एमसीसी परियोजनालाई आफूहरुले विशुद्ध आर्थिक सहयोगका रुपमा लिएको बताए । उनले नेपालले एमसीसी कुनै सैनिक सुरक्षा विषयसँग जोडिन नहुने बताए ।
उनले भने, ‘हामीले एमसीसी पास गर्दा १२ बुँदे ब्याख्यात्मक घोषणा अघि सारेका छौं। यसलाई अमेरिकाले पनि सकारात्मक रुपमा लिनुपर्छ। एमसीसी कुनै सैनिक सुरक्षा विषयसँग जोडिनुहुँदैन ।’
उनले नेपालमा अरु कसैको मनपरी नचल्ने भन्दै नेपाली भूमि छिमेकीविरुद्ध प्रयोग हुन पनि नदिइने बताए ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend