logo

२०८३ असोज ८ बिहिबार

भारतले सूर्यको अध्ययन गर्न पठायो यान

भारतले सूर्यको अध्ययन गर्न पठायो यान


हाम्रो राष्ट्र
  • शनिबार, १६ भाद्र २०८०
  • 1.1K
    SHARES

    भारतले सूर्यको अनुसन्धान गर्ने पहिलो अन्तरिक्ष अभियान प्रक्षेपण गरेको छ । आदित्य–एल वान बोकेको रकेटलाई हेर्न दक्षिण भारतमा पर्ने श्रीहरिकोटास्थित अन्तरिक्ष यान प्रक्षेपणस्थलमा मानिसहरूको ठूलो भिड जम्मा भएको थियो । चेन्नाईबाट एकसय किलोमिटर उत्तरमा पर्ने उक्त स्थलबाट भारतीय समय अनुसार शनिबार बिहान ११ बजेर ५० मिनेट जाँदा उक्त रकेट प्रक्षेपण गरिएको छ ।

    यस मिशनले अन्तरिक्षको मौसम के ले सञ्चालन गर्छ भन्ने बारे पनि अध्ययन गर्नेछ । सौर्य आँधीको प्रक्रियाकाबारे समेत थप धेरै बुझ्ने प्रयास गर्नेछ, जो पृथ्वीको उत्तरी र दक्षिणी ध्रुवीय क्षेत्रमा देखिने नोर्दर्न र सदर्न लाइट्स भनिने रङ् विरङ्गी उज्याला प्रकाशका दृश्यका साथै इलेक्ट्रोम्याग्नेटिक अवरोधका निम्ति समेत जिम्मेवार हुन्छन् ।

    गत साता भारत सफलतापूर्वक चन्द्रमामा अवतरण गर्ने चौथो देश बनेको थियो जहाँ यसअघि अमेरिका, रुस र चीन पुगेका छन् । यस अन्तरिक्ष यान सूर्यको नजिकै भने जानेछैन । आदित्य–एल वान पुग्नु पर्ने दूरी पृथ्वीबाट १५ लाख किलोमिटर छ जुन पृथ्वी र चन्द्रमा बीचको दूरीको चार गुणा हो । तर त्यो सूर्य र पृथ्वी बीचको दूरीको झण्डै एक प्रतिशत मात्र हो ।

    भारतीय अन्तरिक्ष निकायले उक्त दूरी तय गर्नका लागि चार महिना लाग्ने जनाएको छ । पृथ्वीदेखि सूर्यको दूरी १५ करोड १० लाख किलोमिटर छ । अन्तरिक्षमा पठाइएको यान खासमा हाम्रो सबैभन्दा नजिकको तारा सूर्यमा पुग्ने होइन । नासाले अन्तरिक्षमा पठाएको पार्कर नामक यान एक हप्ताअघि मात्रै शुक्र ग्रहको नजिक भएर गएको छ र त्यो अन्ततः सूर्यको सतहबाट ६१ लाख किलोमिटर टाढाको विन्दूसम्म पुग्नेछ ।

    आदित्यको अर्थ संस्कृतमा सूर्य हो । आदित्य– एल वानको नाममा उल्लेख भएको एल वानले लाग्राञ्ज पोइन्ट भनिने अन्तरिक्षको निश्चित स्थानलाई जनाउँछ जहाँ अन्तरिक्षका सूर्य र पृथ्वी जस्ता दुई विशाल खगोलीय पिण्डहरूबीचको गुरुत्वाकर्षणको शक्ति बराबर अथवा सन्तुलित अवस्थामा रहेको हुन्छ ।

    त्यस्तो सन्तुलित गुरुत्वाकर्ण भएको क्षेत्रलाई अन्तरिक्ष यानले इन्धन खपत घटाउनका लागि प्रयोग गर्न सक्छ। त्यस्तो क्षेत्रको नाम फ्रान्सका गणितज्ञ जोसेफ–लुई लाग्राञ्जको नामबाट राखिएको हो जसले १८औँ शताब्दीमा पहिलोपटक त्यसबारे अध्ययन गरेका थिए ।

    भारतीय अन्तरिक्ष यानले जम्मा सात वटा भारीहरू ’पे लोड’ बोक्नेछ त्यसले फोटोस्फेअर र क्रोमोस्फेअर भनिने सूर्यका सबैभन्दा बाहिरी भागको अनुगमन गर्नेछ। र त्यसका लागि इलेक्ट्रोम्याग्नेटिक र पार्टिकल फिल्ड डिडेक्टर जस्ता उपकरणको प्रयोग गरिनेछ ।

    यसले अन्तरिक्षको मौसम के ले सञ्चालन गर्छ भन्ने बारे पनि अध्ययन गर्नेछ। सौर्य आँधीको प्रकृयाका बारे पनि थप धेरै बुझ्ने प्रयास गर्नेछ । इसरोले भनेको छ, ‘यसबाट सौर्य गतिविधिलाई अवलोकन गर्न पहिलभन्दा ठूलो उपलब्धि हासिल हुने मात्रै नभई वास्तविक समयमा नै त्यस्ता गतिविधिको अन्तरिक्ष मौसममा पर्ने प्रभावलाई पनि अनुगमन गर्ने अवसर उपलब्ध गराउँछ।’

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend