बुटवल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणप्रति व्यंग्य गरेका छन् । शनिबार बुटवलमा पार्टीको लुम्बिनी प्रदेशको अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ईपीजीको प्रतिवेदनको बारेमा भारतसँग कुरा नगरेको र गेरु वस्त्र लगाएर आएको भन्दै व्यंग्य गरेका हुन् ।
उनले भने, ‘ईपीजीको प्रतिवेदनको बारेमा किन नभनेको भन्दा सोध्दा रिसाउँछन् कि भनेर नभनेको रे । अनि त्यो राँगा लिन अरूलाई पठाएको भए हुँदैनथ्यो प्रधानमन्त्रीले, राँगा डोर्याउनुपर्छ त ? अब दिइहाले त के गर्ने ? कस्तो नमिलेको, गेरुवस्त्र लगाएको छ, मुर्रा राँगा तानेको छ । गेरुवस्त्र धारणम, मुर्रा राँगा ताननम् । यस्ता खालका प्रधानमन्त्री ।’
अध्यक्ष ओलीले एमालेले देशको स्वाधीनता, स्वतन्त्रता, भौगोलिक अंखण्ड हुनुपर्छ भन्ने मान्यता राख्ने र राष्ट्रिय स्वाभिमानलाई तल गिर्न नदिने बताए । उनले सरकारले लिम्पियाधुरासँग बंगलादेश जाने बाटो साट्ने कुरा गरेको बताउँदै त्यस्तो गर्न नसकिने उल्लेख गरे ।
अध्यक्ष ओलीले पार्टीमा गल्ती गर्नेलाई बाँकी नराख्ने चेतावनी दिए । उनले जेल नेल खाएर नेताहरूले बनाएको पार्टीमा गल्ती गर्नेलाई बाँकी नराख्ने चेतावनी दिएका हुन् ।
उनले भने, ‘एमाले भ्रष्टाचार गर्न सरकारमा जाने र राजनीति गर्ने होइन। हामी ज्यान हत्केलामा राखेर जेल, नेल खटेर भूमिगत खटेर अनेक साथीहरूले खटेर आएको पार्टी हो। एमालेका नेताहरू भूमिगत, जेलनेल खाएर आएका हुन्। त्यसकारण एमालेका नेताहरूलाई आफन्त पोस्नु छैन। कसैको गल्ती त्रुटि पाइयो भने बाँकी राख्दैन।’
अध्यक्ष ओलीले एमालेले आफ्नो ज्यान थुर्रर पार्दा प्रचण्ड, माधव नेपाल सहितका नेताहरू उछिट्टिएको बताए। उनले भने, ‘एमालेले थुर्रर ज्यान हल्लाएको थियो प्रचण्ड, माधव उता उछिट्टिए। अरू उता उछिट्टिए। एमाले जहाँको त्यहीँ छ। एमालेमा पहिरो जान्छ ? कच्ची माटाको ढिस्को हो ?’
अध्यक्ष ओलीले एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालसहितका नेताहरूतर्फ संकेत गर्दै एमालेमा बिग्रिएका फल दुई वर्ष अगाडि नै झरिसकेको बताए ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend