काठमाडौँ । नेपाली चलचित्र ‘एक भगवत् गीता’ को श्रव्यदृश्य (ट्रेलर) सार्वजनिक गरिएको छ । सार्वजनिक श्रव्यदृश्यमा अभिनेता विपीन कार्की ‘कमलामाई’ को भूमिकामा छन् । पहिलोपटक यस किसिमको भूमिका निर्वाह गर्दा आफूले उक्त समुदायलाई बुझ्न पाएको अभिनेता कार्कीले बताए ।
“उहाँहरूलाई छायाङ्कनपछि अहिले दृश्य हेरिरहँदा झनै बुझेको महसुस गरे । म भावुक भए किनकि उहाँहरू सङ्घर्षशील हुनुहुन्छ”, अभिनेता कार्कीले भने, “म राम्रै मैथली बोल्छु । त्यही कारण तराईको चरित्रलाई पर्दासम्म ल्याउन कठिनाइ भने भएन । यद्यपि हामीले सबैले सहजै बुझ्ने मैथली नेपाली लवजको प्रयोग गरेका छौँ ।”
अभिनेत्री सुहाना थापाले कलाकार भएपछि मनोरञ्जनसँगै सन्देश प्रवाह गर्ने उद्देशले यो कथामा चलचित्र बनाउन आफ्नो कम्पनीलाई प्रेरित गरेको बताइन् । उनले भनिन्, “हामीले हाम्रो मौलिकतालाई अगाडि ल्याएका छौँ । यसले मिथिलाको कता भनेको छ । यद्यपि चलचित्र हेर्ने दर्शकले भरपुर मनोरञ्जन पाउनुहुनेछ ।”
यौनिक लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई सम्मान, माया र सद्भाव व्यक्त गर्नुपर्ने निर्देशक झरना थापाले बताइन् । उनले भनिन्, “लगातार हामीले निर्माण गरिरहेको चलचित्रमा यो फरक छ । प्रेम कथानक भन्दा बाहिर आएर समाजमा रहेको समस्यालाई उठाउने कोसिस गरेका छौँ ।”
चलचित्रमा धीरज मगर, कविर खड्का, जेविश र जेविन श्रेष्ठ, सञ्जोग रसाइली, मुकेश झा लगायतका कलाकारले अभिनय गरेका छन् । सुनिलकुमार थापाले निर्माण गर्नुभएको चलचित्रमा निर्देशक थापासँगै सरिन पोखरेल, परिच्छेद सेन, पुरुषोत्तम ढुङ्गेलले पटकथा, राजेश श्रेष्ठले छायाङ्कन, मित्र डी गुरुङले सम्पादन, हिमाल केसीले द्वन्द्व निर्देशन गरेका छन् ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend