logo

२०८३ साउन १३ बुधबार

नेपाल यूएईसँग ६८ रनले पराजित

नेपाल यूएईसँग ६८ रनले पराजित


हाम्रो राष्ट्र
  • बिहिबार, १८ फाल्गुन २०७९
  • 6K
    SHARES

    काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपाल यूएईसँग ६८ रनले पराजित भएको छ ।
    यूएईले दिएको २ सय ८ रनको लक्ष्य पछ्याएको नेपाल ३१ ओभर ५ बलमा १ सय ३९ रन बनाउँदा अलआउट भयो ।

    नेपालका लागि कुशल मल्लले ६० रन र सन्दीप लामिछानेले नटआउट २६ रन बनाए पनि अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । बलिङतर्फ यूएईका रोहन मुस्तफा र कार्तिक मय्यपनले ३/३ विकेट लिए ।

    यसअघि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ७ रन बनायो । यूएईका लागि आसिफ खानले ७२ र रोहन मुस्तफाले ५२ रन बनाए ।

    बलिङतर्फ नेपालका सन्दीप लामिछानेले ३ विकेट लिए । सन्दीपले १० ओभरमा २७ रन दिँदै ३ विकेट लिएका हुन् । यस्तै करण केसी, आरिफ शेख र कुशल मल्लले १÷१ विकेट लिए ।

    यूएईसँग हारेसँगै अब नेपालले लिग–२ को शीर्ष तीनमा रहँदै सोझै विश्व कप खेल्न बाँकी रहेको ६ वटै खेल जित्नुपर्नेछ । अङ्क तालिकामा नेपाल ३० खेलमा २८ अङ्कसहित छैटौँ स्थानमा छ ।

    यो हारसँगै नेपालले लगातार पाँच खेल जितेर बनाएको कीर्तिमानमा पनि ’ब्रेक’ लागेको छ । यसअघि घरेलु मैदानमा भएको ४ वटै खेल जितेर यूएई भ्रमण गरेको नेपालले त्रिदेशीय शृङ्खलाको पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई हराएको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend