logo

२०८३ साउन १४ बिहिबार

विदेश छाडेर नेपालमै च्याउ खेती

विदेश छाडेर नेपालमै च्याउ खेती


हाम्रो राष्ट्र
  • बिहिबार, २१ भाद्र २०८०
  • 962
    SHARES

    मलेखु । वैदेशिक रोजगारीमा पाँच वर्ष बिताएका विनोद पौडेलले च्याउ खेतीमा एक करोड रुपैयाँ लगानी गरेका छन् । यूएईमा मेनेजरको काम छाडेर नेपाल फर्किएका पौडेलले धादिङको थाक्रे गाउँपालिका–१० केवलपुरमा च्याउ खेती सुरु गरेका हुन् । यूएईको कन्सल्टेन्ट कम्पनीमा मासिक झन्डै एक लाख कमाइ भइरहे पनि अब नेपालमै केही गर्नुपर्छ भन्ने सोचका साथ च्याउ खेती सुरु गरेको उनले बताए ।

    ‘अर्काको देशमा अरुले दिएको रोजगारीले जति नै कमाइ भए पनि नेपालमै कृषि खेती गर्नुपर्छ भन्ने पारिवारिक सल्लाहअनुसार च्याउ खेती सुरु गरिएको हो,’ पौडेलले भने, ‘चार वर्षअघि सुरु गरेको च्याउले राम्रै आम्दानी दिइरहेको छ ।’

    २०७६ सालमा काठमाडौंको नागार्जुन नगरपालिका–५, आमकोटबाट साझेदारीमा च्याउ खेती गर्न सुरु गरेका पौडेलले धादिङको केवलपुरमा ३० रोपनी जग्गामा च्याउ खेती गरिरहेका छन् । अहिले ४५ च्याउ घर छन् । दुई रोपनीमा ग्रिन हाउस छ ।

    पौडेल भन्छन्, ‘१० रोपनी आफ्नै जग्गा हो, २० रोपनी जग्गा वार्षिक ७५ हजार रुपैयाँ भाडामा लिएको छु । च्याउमा मात्रै पूरा एक करोड लगानी भएको छ ।’ अहिले दैनिक पाँच सय किलो च्याउ कालीमाटी फलफूल तथा तरकारी बजारमा पुग्छ । सरदर महिनामा २० दिनमात्र च्याउ बिक्री गर्दा १० हजार किलो च्याउ बिक्री हुँदै आएको छ । एक वर्षमा एक लाख २० हजार किलो च्याउ बिक्री गर्दै आएको उनको भनाइ छ ।

    सरदर प्रतिकिलो एक सय २० मा बिक्री गर्दा वार्षिक एक करोड ४४ लाखको कारोबार हुने उनले बताए । जलेश्वर कृषि च्याउ तथा पशुपक्षी फार्म प्रालिमार्फत च्याउ बजारसम्म लैजान उनले २५ लाखमा गाडी किनेका छन् । तीन जना पूर्णकालीन र छ जना आंशिक गरी नौ जनालाई उनले रोजगारी पनि दिएका छन् ।

    पौडेल भन्छन्, ‘हिजो म अर्काको देशमा अरुकै काम गरेर आएको हुँ । आज आफ्नै नेपाली दाजुभाइलाई गाउँठाउँमा काम दिन सक्ने भएको छु ।’ उनले दुईवटा ग्रिन हाउस बनाउन छ लाख अनुदान सरकारबाट लिएका छन् । काम गर्ने मजदुर खर्च, ब्याज, कच्चापदार्थ खर्च, औषधि उपचार र व्यवस्थापन खर्च कट्टी गरेर मासिक एक लाख २० हजार बराबर कमाइ हुने उनको भनाइ छ ।

    ‘कमाएको हिसाबले विदेशमा मासिक ७५ हजार रुपैयाँ आउँथ्यो । बिना लगानीको कमाइ ठीकै लाग्थ्यो, अहिले कम्पनीमा भएको लगानी एक करोडमध्ये ५० लाख ऋणमा छ । घरपरिवारसँगै बसेर कृषिमा राज्यलाई योगदान गर्न पाएको छु, यसमै खुसी छु,’ उनले भने ।

    जाडो मौसममा तीन किलो र गर्मी मौसममा दुई किलो परालको पोका बनाएर बीउ उमार्ने गरिन्छ । च्याउ उत्पादनका लागि पराल तयार पार्नेदेखि ग्रिन हाउसमा लगेर पोका झुन्ड्याउने काम गरेबापत प्रतिपोका ३२ रुपैयाँ मजदुरले पाउँछन् । यसरी काम गर्दा एक मजदुरले सरदर एक हजार रुपैयाँ दैनिक पाउँछन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend