logo

२०८३ साउन १४ बिहिबार

एमाले महासचिवले सीपीसीका विदेश विभाग प्रमुखलाई भने–हामी हाम्रो नयाँ नक्सामा चीनको साथ चाहन्छौं

एमाले महासचिवले सीपीसीका विदेश विभाग प्रमुखलाई भने–हामी हाम्रो नयाँ नक्सामा चीनको साथ चाहन्छौं


हाम्रो राष्ट्र
  • सोमबार, २५ भाद्र २०८०
  • 1.2K
    SHARES

    बेइजिङ । नेकपा एमालेका महासचिव शंकर पोखरेल र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियनचाओबीच सोमबार भेटवार्ता भएको छ ।

    सोमबार बेइजिङमा महासचिव पोखरेल र सीपीसीका विदेश विभाग प्रमुख लिउबीच भेटवार्ता भएको हो । भेटमा महासचिव पोखरेलले नेपालले लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्रको भूभाग समेटी ‘चुच्चे’ नक्सा जारी गरेको जानकारी गराउँदै त्यसमा चीनको साथ समर्थनका लागि आग्रह गरेका छन् ।

    महासचिव पोखरेलले चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण र नेकपा (एमाले) का अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका समयमा भएका सहमति, सम्झौता छोटो कार्यान्वयन होउन् भन्ने एमालेको चाहना रहेको स्पष्ट गरे । सो अवसरमा सीपीसीको विदेश विभाग प्रमुख लिउले दुई देशका उच्चस्तरीय भ्रमणको समयमा भएका सहमति, सम्झौता छिटो कार्यान्वयनका लागि अधिकतम प्रयास रहने बताए ।

    उनले नेपालको विकास र समृद्धि यात्रामा चीनको साथ सहयोग रहने बताए । महासचिव पोखरेलले भने, ‘१८१६ मा भएको सुगौली सन्धिले निर्धारण गरे अनुसार नेपालको नक्सा संसदबाट पास गरेर औपचारिक रूपमा जारी गरेका छौं । त्यसले गर्दा हामीले दबाब र अप्ठ्याराहरूको पनि सामना गर्नुपरेको छ । हामीले जारी गरेको नक्साको सन्दर्भमा हामी सोही अनुसार चीनको पनि साथ चाहन्छौं । चीन सरकार र चिनियाँ कम्युिनष्ट पार्टीको साथ चाहन्छौं । हामी एक चीनको पक्षमा दृढ छौं । नेपालको भूमिबाट चीन विरोधी गतिविधि गर्ने कामलाई अस्वीकार गर्छौं । नेकपा (एमाले) असंग्लन परराष्ट्र नीति र पञ्चशीलको आधारमा हाम्रो अन्तर्राष्ट्रिय सम्बन्ध र सहकार्यलाई कायम राख्न चाहन्छ ।’

    सीपीसीका विदेश विभाग प्रमुख लिउ जियनचाओले एक चीन नीतिमा दृढ रहेकोमा नेकपा एमालेलाई धन्यवाद दिए । उनले भने, नेकपा (एमाले) र चिनियाँ कम्युनिष्ट पार्टीबीचको एकता घनिष्ठ र समुधुर छ । यसलाई हामी नयाँ उचाइँमा लैजान चाहन्छौं । चीन र नेपालबीचको घनिष्ठ सम्बन्ध नचाहने शक्तिहरू पनि छन् । हाम्रो राष्ट्रपति महामहिम सीको नेपाल भ्रमण क्रममा भएका सहमतिहरू र तपाईहरूका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला चीन भ्रमणको क्रममा भएका सहमति कार्यान्वयन होस् भन्नेमा हामी दृढ छौं । ती सहमति, सम्झौताहरू कार्यान्वयन छिटो गराउन हाम्रोतर्फबाट अधिकतम् प्रयास हुनेछ । नेपाल र चीनको घनिष्ठ सम्बन्ध छ । नेपाल चीनको राम्रो मित्रशक्ति हो । राज्यस्तरमा रहेको हाम्रो घनिष्ठ सम्बन्धलाई जनस्तरमा बलियो बनाउन एमाले र सीपीसीको सम्बन्धलाई अझ बलियो बनाउनुपर्छ ।’

    महासचिव पोखरेल नेतृत्वको भ्रमण दल सोमबार छिन्हाई शहर जानेछ । त्यहाँ आयोजित कार्यक्रमलाई महासचिव पोखरेलले सम्बोधन गर्ने कार्यक्रम छ । महासचिव पोखरेल आइतबार तियानमेन स्क्यायर जानुभई चिनियाँ कम्युनिष्ट पार्टीका सर्वोच्च नेता अध्यक्ष माओत्सेतुङप्रति सम्मान प्रकट गर्दै पुष्पगुच्छा अर्पण गरेका थिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend