विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोशी प्रदेशको नामको विषयमा आन्दोलनरत पक्षलाई उत्तेजित पार्ने तत्वहरू सक्रिय रहेको बताएका छन् ।
सोमबार समाजवादी मोर्चाको सन्देश सभालाई विराटनगरमा सम्बोधन गर्दै प्रधानमन्त्रीले कोशी प्रदेशको नामाकरणलाई लिएर जातीय दंगा भड्काउने प्रयास भइरहेको बताएका हुन् ।
उनले प्रतिक्रियावादी, धार्मिक अतिवादी र गणतन्त्रविरुद्ध लाग्नेहरुले प्रदेश नामाकरणलाई मुठभेटमा बदल्न खोजेको आरोप लगाए । प्रधानमन्त्रीले पहिचानवादीहरूको मागलाई सम्बोधन गर्दै अगाडि बढ्नुपर्ने बताए ।
उनले भने, ‘कोशीमा पहिचानको पक्षमा आवाज उठाउन साथीहरूलाई बालुवाटार बोलाएर वार्ता गरेको छु। यसको समस्याको समाधान वार्ताको माध्यमबाट आम जनताको भावनालाई कदर हुने गरी सम्बोधन गरिनेछ। आफ्नो पक्षबाट प्रयास जारी गरिरहेको छु। जनतालाई भ्रमित गर्न पाइयो भने गणतन्त्र नै उल्ट्याउन सकिन्छ भन्ने प्रयासहरू भएका छन् ।’
उनले प्रतिक्रियावादीहरु अहिले सडकमा खुकुरी लिएर हिँडेका भन्दै तिनलाई तह लगाउन लाखौं जनता सन्देशसभामार्फत सडकमा उतारेको बताए ।
उनले भने, ‘अस्ति एउटाले कांग्रेस सहमहामन्त्री महेन्द्र यादवलाई खुकुरी हान्यो । उनीहरूको मनोबल कस्तो रहेछ। तपाईं हामी रक्षात्मक त्यस्तो होइन अब। अब यो समाजवादी मोर्चाले जहाँ बदमासी, गाली गलौज हुन्छ इँटको जवाफ पत्थरले दिने हो ।’
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend