काठमाडौं । काठमाडौँको भृकुटीमण्डपमा आजदेखि ‘आठौँ बृहत् राष्ट्रिय छाला जुत्ता तथा वस्तु प्रदर्शनी २०७९’ सुरु भएको छ ।
नेपाल छाला जुत्ता उत्पादक सङ्घले आयोजना गरेको प्र्रदर्शनी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले बुधबार शुभारम्भ गर्दै नेपालले निर्यात गर्न सक्ने सम्भावना रहेको जुत्ता तथा चप्पल उद्योगलाई आधुनिक प्रविधिको प्रयोगबाट थप व्यावसायिक बनाउँदै लानुपर्नेमा जोड दिइन् ।
“नेपाली कच्चापदार्थ प्रयोग गरेर उत्पादनमा आत्मनिर्भर हुनाका साथै निर्यातका लागि पनि सम्भावना भएको क्षेत्र जुत्ता चप्पल उद्योग नै हो । यसमा नयाँ प्रविधि र आधुनिकतासँगै गुणस्तर पनि कायम गर्न आवश्यक छ”, उनले भनिन्, “ नेपाली उद्योगलाई प्रोत्साहन गर्न बजारीकरणमा पनि विशेष ध्यान पुर्याउनुपर्छ ।”
पछिल्लो समय देशको आर्थिक अवस्था खस्किरहेको भन्दै मन्त्री चौधरीले यस्तो अवस्थामा उद्यमी व्यवसायीलाई प्रोत्साहन गर्न आवश्यक रहेको बताइन् । “बैंकमा तरलता अभाव र चर्को ब्याजदरका कारण नेपाली उद्यमी व्यवसायीहरु समस्यामा परेका छन् । उद्यमका लागि पूँजी अभाव भएकोबारे सरकार जानकार रहेकैले सहजीकरणका लागि पहल पनि भइरहेको छ,” उनले भनिन् ।
छाला जुत्ता उत्पादक सङ्घका अध्यक्ष हरिराम बोगटीले प्रदर्शनीको मुख्य उद्देश्य नेपाली उपभोक्तालाई नेपालभित्रकै गुणस्तरीय उत्पादन प्रयोग गर्न लगाउनु र त्यस्ता वस्तुको प्रवद्र्धन गर्नु रहेको बताए ।
नेपाल भित्रका लघु, घरेलु तथा साना उद्योगमार्फत हुने उत्पादनलाई आधुनिकीकरण गरेर बिस्तारै व्यावसायिकतातर्फ उन्मुख गराउनु पनि प्रदर्शनीको मुख्य उद्देश्य रहेको उनको भनाइ थियो ।
“नेपालमा थप जनशक्तिलाई सीप सिकाएर रोजगारी सिर्जना गर्ने र जुत्ता चप्पलमा आत्मनिर्भर हुने अभियानमा टेवा पुग्नेछ भन्ने विश्वास हामीले लिएका छौँ”, अध्यक्ष बोगटीले भने, “नेपाली उत्पादनका लागि सरकारले छुट्टै प्रदर्शनीस्थल उपलब्ध गराउनुपर्छ ।”
‘कला र कौशल हाम्रो, नेपाली ब्रान्ड नै राम्रो’ मुख्य नारा दिइएको प्रदर्शनी फागुन ९ गतेसम्म सञ्चालन हुनेछ ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend