logo

२०८३ असोज ८ बिहिबार

पोखरा विमानस्थलमा चीनका विभिन्न सहरबाट नियमित उडान गर्ने विषयमा प्रधानमन्त्रीले चीन भ्रमणमा कुरा गर्नुहुन्छः मन्त्री किराती

पोखरा विमानस्थलमा चीनका विभिन्न सहरबाट नियमित उडान गर्ने विषयमा प्रधानमन्त्रीले चीन भ्रमणमा कुरा गर्नुहुन्छः मन्त्री किराती


हाम्रो राष्ट्र
  • शनिबार, ६ असोज २०८०
  • 1.2K
    SHARES

    कास्की । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान नियमित गर्नेबारेमा मित्रराष्ट्र चीनसँग उच्चस्तरीय छलफल हुने बताएका छन् ।

    पोखरामा शनिबार सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’को आजदेखि सुरु भएको चीन भ्रमणका क्रममा चिनियाँ पक्षसँग पोखरा विमानस्थलमा चीनका विभिन्न सहरबाट नियमित उडान गर्ने विषयमा छलफल हुने बताएका हुन् ।

    मन्त्री किरातीले चीन र भूटानबाट पोखरा विमानस्थलमा भएको चार्टर उडानले व्यावसायिक सञ्चालनको सन्देश विश्वभर गएको बताउँदै पोखरामा नियमित उडान गर्न भारतसँग पनि छलफल भइरहेको जानकारी दिए ।

    “पोखरामा दुई वटा चार्टर विमान उडाएका छौँ, यसबाट पोखरा विमानस्थलमा व्यावसायिक उडान सञ्चालनको सन्देश गएको छ”, उनले भने, “प्रधानमन्त्रीको चीन भ्रमणमा यसका बारेमा गम्भीरतापूर्वक छलफल हुन्छ । चीनका विभिन्न सहरबाट काठमाडौँ आउने जहाजलाई पोखरा डाइभर्ट गर्ने विषयमा छलफल भइरहेको छ ।”

    मन्त्री किरातीले पोखरा र भैरहवा विमानस्थललाई सार्वजनिक निजी साझेदारीमा सञ्चालन गर्ने योजना रहेको जानकारी दिए । उनले आफ्नो सात महिनाको कार्यकालमा मध्यमस्तरको परिणाम दिन सफल भएको उल्लेख गरे ।

    वायुसेवा निगमका क्षेत्रमा जहाज खरिद गर्ने, पशुपतिमा निःशुल्क शवदाहको व्यवस्था र नागरिक उड्डयनका क्षेत्रमा नेपालको आकासलाई कालोसूचीबाट हटाउने अन्तिम कोशिस लगायतका मध्यमस्तरको परिणाम दिने काम भएको मन्त्री किरातीले बताए ।

    मन्त्रालयले नयाँ पर्यटन ऐनका लागि मस्यौदा समिति बनाएको र जनताबाट सुझाव माग गरिएको उनले जानकारी दिए । संस्कृति ऐन निर्माणका लागि समिति गठन गरिएको र सो समितिको दिशानिर्देशअनुसार पहिलो पटक कानुन निर्माण गरिने मन्त्री किरातीको भनाइ थियो ।

    मन्त्री किरातीले दुर्गम क्षेत्रमा सेवा दिने गरी स्टल रुटको साना आकारका तीनबाट जहाज गरिद गर्न लागिएको जानकारी दिए । “अहिले पनि २२ विमानस्थल खाली छन् । तीनको व्यावसायिक सञ्चालनका लागि साना जहाज चाहिन्छ । तीन वटा जहाज किनेपछि हामीसँग छ जहाज हुन्छन्”, उनले भने, “यसबाट खाली रहेका विमानस्थल सञ्चालन गर्न सकिन्छ । विमानस्थल सञ्चालन भएका नागरिकले सेवा पाउँछन् ।”

    सरकारले अन्तर्राष्ट्रियस्तरमा उडान भर्ने गरी ‘न्यारो बडी’ जहाज खरिदको योजना गरिरहेको पनि मन्त्री किरातीले जानकारी दिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend