logo

२०८३ कार्तिक १२ बुधबार

९ हजार नौ सय ९९ किशोरीले लगाए क्यान्सरविरुद्धको खोप

९ हजार नौ सय ९९ किशोरीले लगाए क्यान्सरविरुद्धको खोप


हाम्रो राष्ट्र
  • सोमबार, १५ असोज २०८०
  • 1.5K
    SHARES

     

    काठमाडौँ । नौ हजार नौ सय ९९ किशोरीले पाठेघरको मुखमा क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत भदौ २७ गतेदेखि सञ्चालन गरेको खोप अभियानअन्तर्गत ती किशोरीले खोप लगाएका हुन् ।

    स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले लक्ष्यअनुसार किशोरीहरुले एचपिभी खोप लगाएको बताए । अभियानको सुरुमा विभिन्न अवरोधका कारण खोप लगाउन नपाएपछि समय थप गरी लक्ष्यअनुसार सबै किशोरीले खोप लगाएको उनको भनाइ छ ।

    भदौ ३० गतेसम्म एचपिभी खोप अभियान सञ्चालन गर्ने भनिए पनि लगातार सार्वजनिक बिदा परेपछि असोज १० गतेसम्म अभियान सञ्चालन गरिएको थियो ।

    सरकारले यही भदौ २७ गतेदेखि मधेस प्रदेशको वीरगञ्जस्थित नारायणी अस्पताल, बागमती प्रदेशको परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, गण्डकी प्रदेशको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा खोप अभियान सञ्चालन गरेको थियो । साथै लुम्बिनी प्रदेशको भेरी अस्पताल बाँके, कर्णाली प्रदेशको प्रादेशिक अस्पताल र सुदूरपश्चिम प्रदेशको डडेल्धुरा अस्पतालबाट पनि खोप अभियान सञ्चालन गरिएको थियो ।

    अभियान अन्तर्गत १४ वर्ष उमेर पूरा भई १५ वर्ष नकटेका किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सरबाट बचाउनका लागि एचपिभी खोप लगाइएको हो । खोपको दोस्रो मात्रा आगामी माघमा सञ्चालन गरिने शाखा प्रमुख डा गौतमले जानकारी दिए ।

    सरकारले चीन सरकारसँग महिलाको पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको २० हजार डोज खोप खरिद गरेको थियो । एचपिभी खोप दुई मात्रा लगाएपछि पाठेघरको मुखमा हुने क्यान्सरको सङ्क्रमण ९५ प्रतिशत सुरक्षा प्रदान गर्ने दाबी गरिएको छ । यसअघि सरकारले सन् २०१६/१७ मा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप नमूनाका रुपमा चितवन र कास्कीमा सञ्चालन गरेको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend