काठमाडौं । तनहुँ जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । यस अगाडि जिल्लाका दशवटै पालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको थियो । स्वास्थ्य कार्यालयद्वारा मङ्गलबार आयोजित कार्यक्रममा १६ महिनादेखि ५९ महिनासम्मका सम्पूर्ण बालबालिकालाई राष्ट्रिय खोप कार्यक्रमको तालिका अनुसार १५ महिनाभित्र पाउनुपर्ने सबै खोप लगाइसकेको सुनिश्चिततासहित पूर्ण खोप जिल्ला घोषणा गरिएको थियो
स्वास्थ्य कार्यालयका प्रमुख विद्या तामाङले खोप लगाउन छुटेका सबै बालबालिकाको तथ्याङ्क सङ्कलन गरी खोप लगाइएको जानकारी दिनुभयो । सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख एवं जिल्लास्तरीय खोप समन्वय समितिका संयोजक शान्तिरमण वाग्लेले खोप सुनिश्चिततालाई दिगोपना राख्नुपर्ने बताउनुभयो ।
जिल्लाका दशवटै पालिकाका ८५ वडाका बालबालिकाले पूर्णरुपमा खोप पाएको सुनिश्चित भएपछि पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको स्वास्थ्य कार्यालयका खोप अधिकृत शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो । व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले १६ महिनादेखि पाँच वर्षसम्मका दुई हजार आठ सय १८ बालबालिकालाई सबै खोपको पहुँचमा ल्याइएको जानकारी दिनुभयो । त्यस्तै १५ महिनासम्मका एक हजार ११ बालबालिकालाई पनि खोप लगाइएको उहाँको भनाइ छ ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend