काठमाडौं । विश्व हिन्दू महासंघले शुक्रबार हिन्दू अधिराज्य स्थापनाका लागि र धर्म निरपेक्षता खारेजका लागि भोलि काठमाडौंमा प्रदर्शन गर्ने भएको छ । महासंघका कार्यवाहक अध्यक्ष अस्मिता भण्डारीले संघीय गणतान्त्रिक धर्म निरपेक्ष संविधान स्थापना भएदेखि देशमा बहुसंख्यक सनातनीहरू संकटमा परेको दाबी गर्दै देशको पहिचान र स्वाभिमान गुम्दै गएको आरोप लगाउनुभयो ।
देशमा अन्याय, अत्याचार, दुराचार, भ्रस्टाचार बढ्दै गएको उल्लेख गर्दै समाधानको एक मात्र विकल्प हिन्दू अधिराज्य पुनर्नस्थापना भएको जिकिर समेत उहाँको छ । भण्डारीले धर्मान्तरण एक मुख्य समस्या भएको बताउँदै त्यसमा रोक लगाउन सम्पूर्ण देशभक्त नागरिकहरूको सहयोगमा प्रदर्शन शान्तिपूर्ण रहने जानकारी गराउनुभयो ।
प्रदर्शनमा राप्रपाको समेत प्रतिनिधित्व रहने प्रदर्शन माइतीघर मण्डलाबाट अपरान्ह १:०० बजे सुरु हुनेछ । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल शमशेर राणाले नेपालमा राजसंस्था र हिन्दू धर्म अनिवार्य रहेको बताउँदै विश्व हिन्दू महासंघको धर्मान्तरणविरुद्धको आन्दोलनलाई पूर्ण समर्थन गर्ने घोषणा गर्नुभयो । प्रदर्शनमा विभिन्न सनातनी संघ संगठनका प्रतिनिधिहरूको सहभागिता रहने जनाइएको छ ।

© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend