logo

२०८३ साउन १३ बुधबार

उदाउँदो सूर्यलाई अर्घ्य अर्पणसँगै छठ सम्पन्न

उदाउँदो सूर्यलाई अर्घ्य अर्पणसँगै छठ सम्पन्न


हाम्रो राष्ट्र
  • शुक्रबार, २३ कार्तिक २०८१
  • 3K
    SHARES

    धनुषा, २३ कात्तिकः उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठपर्व सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान तराईका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलसहित देशभरिका जलाशयमा उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गर्दै छठपर्व सम्पन्न भएको हो ।

    पारिवारिक सुख, शान्ति, समृद्धि, रोगबाट मुक्ति तथा मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठका अवसरमा पोखरी, नदी, तलाउमा श्रद्धालु भक्तजनको भीड लागेको थियो । बर्तालुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर सूर्योपासनाको यो पर्वको प्रारम्भ गरेका थिए ।

    त्यस्तै पर्वको दोस्रो दिन बुधबार खर्ना मनाएका थिए । खर्नाका दिन बर्तीहरूले दिनभरि उपवास निराहार बसेर राति षष्ठीका देवीलाई आगमनको निम्तो दिँदै कूलदेवताको पूजा गरेका थिए र राति अरवा अरबाइन (बिना नुन हालेको) खानेकुरा खाएका थिए ।

    त्यस्तै षष्ठीका दिन अर्थात् बिहीबार साँझ गहुँ र चामल ओखल जाँतो वा ढिकीमा कुटान पिसान गरी सोबाट निस्केको पीठोबाट बनाइएका विभिन्न गुलियो खाद्य सामग्री ठकुवा, भुसवा, खजुरिया, पेरुकियाजस्ता पकवान र विभिन्न फलफूल तथा मुला, गाँजर, बेसारको गाँहो, भोगटे, ज्यामिरी, नरिवल, सुन्तला, केरा नाङ्लो, कोनिया, सरवा, ढाकन, माटोको हात्ती, ठूलो ढाकीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवं लोकगीत गाउँदै निर्धारित जलासय नजिक बनाएको छठघाटसम्म पुगेका थिए ।

    षष्ठीका दिन बिहीबार साँझ बर्तीले सन्ध्याकालीन अघ्र्यका लागि पानीमा पसेर सूर्य अस्ताउञ्जेलसम्म अस्ताउँदो सूर्यलाई आराधना गर्दै दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षेता फूल हालेर अन्य अघ्र्य सामग्री पालोपालो गरी अस्ताचलगामी अर्घ्य अर्पण गरेका थिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend