काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले व्यावसायिक क्षेत्रमा सुरक्षाको प्रत्याभूति गर्न सरकारसँग माग गरेको छ । चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले बिहीबार विज्ञप्ति जारी गरी सोमबार नयाँबसपार्कस्थित लोत्से मलमा भएको तोडफोड र पसलभित्र चोरी भएको भन्दै व्यावसायिक क्षेत्रमा सुरक्षाको प्रत्याभूति गर्न सरकारसँग माग गरेका हुन् ।
“विभिन्न मजदुर यातायात सङ्घ–सङ्गठनले गरेको आन्दोलनको मौका छोपीे नयाँ बसपार्कस्थित लोत्से मलमा रहेका पसलमा तोडफोड गरी लुटपाट भएको घटनामा नेपाल चेम्बर अफ कमर्सको गम्भीर ध्यानाकर्षण भएको छ”, चेम्बरद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
चेम्बरले घटनाका दोषीलाई अविलम्ब पक्राउ गरी कानूनी कारबाही गर्न र पीडित व्यवसायीलाई लुटपाटमा संलग्नबाटै क्षतिपूर्तिको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ । शान्तिपूर्ण आन्दोलन एवं प्रदर्शन गर्ने अधिकार भए पनि आन्दोलनका नाममा उच्छ्रिङ्खल गतिविधि, लुटपाट र तोडफोड गर्ने छुट कसैलाई नभएको चेम्बरले जनाएको छ ।
औद्योगिक एवं व्यावसायिक क्षेत्रको सुरक्षाका लागि सुरक्षा निकायलाई चुस्त र तैनाथी अवस्थामा राख्नुपर्ने अध्यक्ष मल्लको भनाइ छ । व्यावसायिक क्षेत्रमा शान्ति, सुरक्षा कायम गर्न नसकिए व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था आउने चेम्बरले जनाएको छ ।
राज्यलाई कर तिरेर व्यवसाय सञ्चालन गर्दा समेत शान्ति सुरक्षा कायम हुन नसक्नु दुर्भाग्यपूर्ण भएको चेम्बरले बताएको छ । चेम्बरले लोत्से मलका पीडित व्यवसायीलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउन र आगामी दिनमा यस्ता प्रवृत्तिका घटना दोहोरिन नदिन सरकारलाई सचेत गराएको छ ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend