logo

२०८३ असोज ६ मंगलबार

एलएमसि–१९ वडा कप चेसमा सीएम सजिन महर्जन अपराजित, अग्रस्थानमा

एलएमसि–१९ वडा कप चेसमा सीएम सजिन महर्जन अपराजित, अग्रस्थानमा


हाम्रो राष्ट्र
  • शनिबार, ४ माघ २०८२
  • 2.7K
    SHARES

    ललितपुर:  ललितपुर महानगरपालिका वडा नं. १९ को आयोजनामा सञ्चालन भइरहेको एलएमसि वडा कप बुद्धिचाल (चेस) प्रतियोगितामा सीएम सजिन महर्जन अपराजित रहँदै अग्रस्थानमा पुगेका छन्।

    ललितपुरका २०३६ रेटेड सीएम सजिन महर्जनले शुक्रबार सम्पन्न खेलहरूमा बनेपाका श्रीसुन तिमिला, काभ्रेका अर्पणबहादुर ढोटेल, दोलखाका राजीव कार्की, बाँकेका एआईएम अभिक शाह तथा काठमाडौं चेस क्लबका सीएम केशव श्रेष्ठलाई पराजित गर्दै सबै खेल जितेका हुन्।

    ललितपुरको रातो मच्छिन्द्रनाथ बहालमा भइरहेको प्रतियोगितामा बनेपाका शैलेन्द्र न्यौपाने, भक्तपुरका निकेन कुसाथा, महालक्ष्मी नगरपालिकाका सुरज महर्जन र पाँचथरका रिसोन थापाले समान ५–५ अंक जोड्दै संयुक्त दोस्रो स्थानमा रहेका छन्।

    वडा कप रापिड रेटिङ बुद्धिचाल प्रतियोगितामा देशभरबाट १६३ खेलाडीको सहभागिता रहेको छ। प्रतियोगितामा शीर्ष २० खेलाडीहरूले समान ४ अंक जोड्दै संयुक्त तेस्रो स्थानमा आफूलाई सुरक्षित गरेका छन्।

    तीन पटकका नेपाल च्याम्पियन बद्रीलाल नेपाली, चितवनका सत्यम शर्मा, ललितपुरका राजनपुरी, सीएम केशव श्रेष्ठ, सीएम भगवती प्रसाद शर्मा, स्याङ्जाका आकाश सुवेदी, काठमाडौंका विशेष कार्की, पूर्व नेपाल च्याम्पियन सीएम नवीन तण्डुकार तथा बाँकेका अभिक शाह शीर्ष १५ भित्र रहेका छन्।

    यस्तै धादिङका सुभाषकुमार गुरुङ, दोलखाका आशिष फुँयाल, मकवानपुरका एफएम क्षितिज भण्डारी, धरानका मोहन नरसिंह श्रेष्ठ, कास्कीका सुशील सुवेदी, खोटाङका धीरेन्द्र राई, चेकमेट चेस क्लबका प्रकाशचन्द्र नेपाल, दोलखाका कविन्द्र शिवाकोटी, बनेपाका श्रीसुन तिमिला, ललितपुरका विजय महर्जन र भक्तपुरका गणेशमान दुवाल ४ अंकसहित उपाधि होडमा छन्।

    प्रतियोगिताको उद्घाटन गर्दै ललितपुर महानगरपालिका वडा नं. १९ का अध्यक्ष राजेन्द्र महर्जनले बौद्धिक खेल चेसले खेलाडीलाई अनुशासित, धैर्यशील र सकारात्मक समाज निर्माणतर्फ अभ्यस्त बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्।

    कार्यक्रममा प्रतियोगिता संयोजक बिरेन्द्र ताम्राकार, प्रविन श्रेष्ठ, नेपाल चेस महासंघका प्रवक्ता राजु ताम्राकार लगायतको उपस्थिति रहेको थियो।

    प्रतियोगिताका विजेताले कूल १ लाख १ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन्। शनिबार थप ५ चरणका खेल सम्पन्न भएपछि उपमेयर मञ्जली शाक्य बज्राचार्यद्वारा पुरस्कार वितरण गरिने कार्यक्रम तय गरिएको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend